त्रिभुवन विमानस्थल आजदेखि २१ घन्टा खुल्ने

काठमाडौं, १६ असार । मर्मत संभारको लागि गत चैत १८ गतेदेखि १४ घन्टा मात्रै खुलेको त्रिभुवन विमानस्थल सोमबार (आज) देखि २१ घन्टा खुल्ने भएको छ ।

विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर पिच निर्माण तथा मर्मतको काम भैरहेको थियो ।
रन वे को काम लगभग सकेका को र २/३ सय मिटर बाँकी छ, त्यो काम अब उनीहरुले राति ३ घन्टा काम गरेर सक्ने भएकाले सोमबारदेखि हामीले विमानस्थल २१ घन्टा सञ्चालन गर्न लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए ।

विमान कम्पनीले पुरानै तालिका अनुसार उडानको समय मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।

गएको वर्षको जेठ ७ गतेदेखि विमानस्थल बिहान ३ बजेदेखि राति १२ बजेसम्म २१ घन्टा खुलाउन थालिएको छ । तर आन्तरिक उडानको लागि भने बिहान ५ बजे नै विमानस्थल खोलेर उडान गरिँदै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा अन्तर्राष्ट्रिय उडान कम्पनी, १० वटा आन्तरिक उडान कम्पनी र ९ वटा हेलिकप्टर कम्पनीका दैनिक ४ सय उडान र अवतरण हुन्छन् । औसतमा साढे २ मिनेटमा एउटा उडान र अवतरण भैरहेको हुन्छ ।
३ हजार ५० मिटर लामो रन वे को ३० देखि ५० सेन्टिमिटर गहिराइसम्मको पिच उप्काएर नयाँ हाल्ने काम लगभग अन्तिम चरणमा पुगेको आयोजना प्रमुख बाबुराम पौडेलले जानकारी दिनुभयो ।

ट्याक्सी वे र लिंक रोडको काम सेप्टेम्बरदेखि

रन वे र ट्याक्सी वे को मर्मतको जिम्मा पाएको चिनिया कम्पनीले रन वे को काम लगभग सकेको छ । अर्को हप्तासम्म रन वे को पिच परिवर्तन गर्ने मात्रै नभइ फिनिसिङको काम पनि सकिँदैछ ।

तर ट्याक्सी वे को काम भने बाँकी नै छ । तर बर्खा लागिसकेकाले ट्याक्सी वे को काम सेप्टेम्बरदेखि मात्रै सुरु हुने भएको छ ।
‘सेप्टेम्बर १ तारिख देखि डिसेम्बर ३१ तारिखसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वे को काम गछौं, बर्खा लागेकोले अहिले काम गर्न गाह्रो छ ।’ विमानस्थल प्रमुख क्षेत्रीले भन्नुभयो ।

नेपाल नागरिक उडड्न प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनसँग चार अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरेर काम रन वे र ट्याक्सी वे मर्मतको काम थालेको हो । प्राधिकरणले निर्माण कार्यलाइ तिब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्