इटहरीका मेयर द्वारिकलाल चौधरीलाई कडा कारवाही गर्न सांसदको माग

काठमाडौँ, असार १३ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा महिला सांसदहरुले महिलामाथि सार्वजनिक रुपमा अपशब्द बोलेको भन्दै चौधरीमाथि कारबाही गर्न सरकार र नेकपासँग माग गरेका हुन्।

प्रतिपक्षी कांग्रेसकी सांसद लक्ष्मी परियारले मेयर चौधरीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरिन् । उनले भनिन्, ‘द्वारिकालाल चौधरी डामेर छाडेको साँढे हो? महिलामाथि सार्वजनिक रुपमा आपत्तिजनक शब्द बोल्दा पनि किन कारबाही हुँदैन?’

त्यस्तै नेकपाकी सांसद विन्दा पाण्डेले जनप्रतिनिधिको गरिमा गर्न माग गरिन्। उनले सम्बन्धित व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसी कोषाध्यक्षसमेत रहेकी सीतादेवी यादवले पनि चौधरीमाथि कारबाही हुनुपर्ने धारणा राखिन्। यादवले भनिन्, ‘घृणित अभिव्यक्ति दिने मेयरलाई कारबाही गरियोस्।’

मेयर चौधरीले असार ४ गते इटहरीको वडा नम्बर १६ र १७ मा नागरिक समाजद्वारा आयोजित समाजिक विकृतिका विरुद्ध अभियान कार्यक्रममा महिलाहरुमा लक्षित गर्दै अपशब्द बोलेका थिए।

इटहरीमा बढ्दो वेश्यावृत्ति रोक्नका लागि भन्दै मेयर चौधरीले कार्यक्रममा अशोभनीय शब्द प्रयोग गरेका थिए। उनको यो अपशब्दले महिलामाथि निकै अपमान भएको छ ।

महिलाहरुले उनलाई कारवाही गर्न माग गरेका छन् । यस अघि उनको सामाजिक संजालमा पनि निकै चर्को आलोचना भएको थियो । चौधरी बारम्बार विवादमा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्