कीर्तिपुरमा एक किशोरीमाथि सिरिन्ज आक्रमण, आक्रमणपछि सर्वसाधरणमा त्रास

काठमाडौं, असार १३ । राजधानीको कीर्तिपुरमा एकजना किशोरीमाथि सिरिन्ज आक्रमण भएको छ । बिहीबार साँझ घर नजिकै हिँडिरहेका बेला आफूलाई सिरिन्ज जस्तो धारिलो वस्तुले आक्रमण गरिएको १३ वर्षीया किशोरीले बताएकी छन् ।

उनी सिरिन्ज आक्रमणमा परेपछि टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा उपचार गर्नु पुगेकी छन् ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बिहीवार बेलुकी आफूलाई अपरिचित व्यक्तिले शरिरको तल्लो भागमा सिरिन्ज जस्तो धारिलो वस्तुले आक्रमण गरेको भन्दै उपचारका लागि अस्पताल आएको बताए ।

उनले भने, ‘हिजो बेलुकी फेरि कीर्तिपुरबाट एक १३ वर्षीय किशोरी उचारको लागि आएकी थिइन् । अहिले उपचार गरिरहेका छौँ । डा. पुनका अनुसार हिजो अस्पताल पुगेकी किशोरीको घाउ हेर्दा भने धारिलो वस्तु नभएर सिरिन्ज नै हुन सक्ने अनुमान गरिएको बताए ।

‘घाउको प्रकृति हर्दा सिरिन्ज नै हो जस्तो लागेपछि गम्भीररुपमा हेरिरहेका छौँ, उनले भने, आज पनि किशोरी अस्पताल आएकी थिइन् । धारिलो वस्तुले आक्रमणका धेरै घटना भएपछि लागू पदार्थ दुर्व्यसनी र आपराधिक मानसिकताका व्यक्तिले यस्ता घटना गराएको हुन सक्ने डा. पुनले बताए । ‘यसअघि आउने विरामीमा सिरिन्ज नभइ धारिलो वस्तुले आक्रमण गरे जस्तो थियो ।

तर अस्ती काभ्रे र हिजो कीर्तिपुरबाट आएको केश भने सिरिन्जबाटै आक्रमण भएको जस्तो देखिएको छ, उनले भने, रोग सार्न नै आक्रमण भएको हो भने त्यसको पुष्टि गर्न भने हामीले कम्तीमा तीन महिना कुर्नुपर्ने हुनसक्छ ।

काठमाडौंमा महिलामाथि आक्रमणका घटना आइरहेका बेला उपत्यका बाहिर पनि ‘सिरिन्ज आक्रमण’को घटना सार्वजनिक भएपछि सर्वसाधरणमा त्रास फैलिएको छ ।

यसरी खुलमखुल्ला दिनदाहाडै युवतीमाथि यस्तो आक्रमण हुँदा सबैमा डर र त्रास फैलिएको छ ।
बनेपाकी ३४ वर्षीया युवती सिरिन्ज आक्रमणमा परेको भन्दै बुधबार शुक्रराज ट्रपिकल अस्पताल टेकु आइपुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्