त्रिभुवन विमानस्थलः राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै उडान आधा घण्टा बन्द हुने

काठमाडौं, असार १३ । ‘विमानस्थल संकटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ ।

संकटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो । अभ्यासका क्रममा दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडानरअवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिनेछ । त्यसअवधिमा राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय दुबै उडान बन्द हुनेछन् ।

अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा संकटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ ।

बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिनेछ ।

विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार उडान नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिनेछ ।

यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्