कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, असार १३ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले शुक्रबार सार्वजनिक गरेको हो ।

जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपालीलाई प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।

सन् २०१९ को लागि कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । सन् २०१९ मा लिइएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी थिए भने परीक्षामा ७ हजार ९९६ जना उत्तीर्ण भएका थिए ।

भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् ।

रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् ।


परीक्षामा पास हुदैमा कोरियाको रोजगारी ग्यारेन्टी भयो भनेर ढुक्क नहुन प्रवक्ता शोभाकार भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गरेका छन् ।

पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ ।

यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्