एसईई नतिजा : नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण, यस वर्ष पनि सामुदायिक विद्यालयको नतिजा कमजोर

का ठमाडौं, असार १२ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो । जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या १७५८० रहेको छ । त्यस्तै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने परीक्षार्थीको संख्या ५११३७ रहेको छ ।

त्यस्तै जीपीए २.८० देखि जीपीए ३.२० ल्याउने परीक्षार्थीको संख्या ६३७४१ रहेको छ । जीपीए २.४० देखि २.८० ल्याउने परीक्षार्थी ७६५६४ रहेका छन् । त्यस्तै २.०देखि २.४० ल्याउने परीक्षार्थी ९८२०७ रहेका छन् ।

त्यस्तै जीपीए १.६० देखि २.० जीपीए ल्याउने परीक्षार्थी ९५३०७ रहेका छन् । त्यस्तै जीपीए १.२० देखि १.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ४३८४१ रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।

कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गरेको हो ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको थियो ।

यसैबिच विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एसईईको नजितामा सामुदायिक विद्यालय कमजोर देखिएको छ।

राज्यको ठूलो रकम लगानी भएको सामुदायिक विद्यालय तर्फका विद्यार्थीको उत्तीर्ण प्रतिशत निजी विद्यालयको भन्दा कमजोर देखिएको हो। राम्रो ग्रेड ल्याउने अधिकांश विद्यार्थी निजी विद्यालयबाट परेका छन्।

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ ।

यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ।

यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्क्सिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्