संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन पाउनुपर्छ : महानिरीक्षक खनाल
काठमाडौं, असार १२ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढने कानुनी व्यवस्था गर्न जरुरी रहेको बताएका हुन् ।
‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै महानिरीक्षक खनालले मुलुकको भूसंवेदनशीलतालाई ध्यानमा राखेर पनि कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि बताए ।
प्रहरी महानिरीक्षक खनाले खुल्ला सीमासंग जोडिएका प्रदेशहरु सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षासम्बनधी कानुन तय गर्नु पर्ने बताए ।
प्रहरी महानिरीक्षक खनालले प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा एक्लैले लिए पनि वीरगंज, भैरहवा, विराटनगरजस्ता नाकाहरुबाट आउने सक्ने राष्ट्रिय सुरक्षाको चुनौतीलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुने तर्फ पनि समितिको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्