मन्त्रिमण्डल पुनर्गठन हुँदैन, यो हल्ला मात्रै हो : मन्त्री महासेठ
काठमाडौं, असार ११ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने दाबी गरेका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए ।
उनले भने,‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखिनै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो ।’
उनले तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना नभएको स्पष्ट पारे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ ।
उनले भने,‘मन्त्रिमण्डल पुनगर्ठन भएपनि अध्यक्षद्धयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन ।’
सरकार गठन भएको १७ महिना व्यतित भएको र यो अवधिमा सरकार कुनैपनि मोर्चामा असफल नभएको पनि उनले दाबी गरे । बरु, सरकारको काम देखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस डराएको उनको आरोप छ ।
मन्त्री महासेठले पार्टी्भित्र कुनै अन्तरविरोध नरहेको र केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री भएको आफ्नो बुझाइ रहेको बताए । तर, यदि पार्टीले निर्णय गर्यो भने प्रधानमन्त्री, मन्त्री हामी सबै भोलि नै फर्किनुपर्ने भन्दै उनले बजारमा चलेको हल्लाको विश्वास नगर्न सबैलाई आग्रह पनि गरे ।
कार्यक्रममा उनले सरकारले रेलमार्ग निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइरहेको साथै पूर्व–पश्चिम रेलमार्गको डीपीआरको काम धमाधम भैरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्