‘गलबन्दी’ विवादः संगीतमा शम्भु’ राईको नाम राख्ने गरी सहमति

काठमाण्डौ , असार ११ । केही समयदेखि लय मिलेको विवादमा रहेको गीत ‘गलबन्दी’का दुई पक्षले सहमति गरेका छन्।

गीतका गायक, संगीतकार र गीतकार प्रकाश सपुत र लय मिलेको दाबी गर्ने गायक शम्भु राईबीच मंगलबार सहमति भएको हो।

चर्चित लोकगीत ’गलबन्दी’ को विषयलाई लिएर पुराना लोक गायक शम्भु राई र प्रकाश सपूतबीचे विवाद भईरहेको थियो ।

गायक राईले आफ्नो ’आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतको लय प्रकाश सपूतले ’गलबन्दी’ गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मुद्दा समेत हालेका थिए ।

बुधबार शम्भु राई र प्रकाश सपूतबीच सहमति भएको छ । सहमति अनुसार प्रकाश सपूतको ’गलबन्दी’ गीतको वितरण र यूट्युब च्यानलमा गीत संगीत सिर्जना शम्भु राई र पुनः गीत संगीत सिर्जना प्रकाश सपूत लेखिनेछ ।

तर गलबन्दी गीतको संगीत सिर्जनामा शम्भु राईको नाम लेखिए पनि त्यसको सबै अधिकार प्रकाश सपूतमा रहने र आर्थिक आम्दानी पनि उनकै रहने सहमति भएको छ ।

त्यस्तै शम्भु राईले नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा हालेको मुद्दा पनि फिर्ता लिने सहमति भएको छ । सहमतिपछि राईले उजुरी फिर्ता लिनेछन् भने सपुतले गीतमा राईको नाम थप गर्नेछन्। गीतको प्रतिलिपि अधिकार भने सपुतसँगै रहनेछ।

प्रतिक्रिया दिनुहोस्