स्वास्थ्यमन्त्री यादव भन्छन्- आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्नेगरी काम भइरहेको छ

काठमाडौं, असार १० । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा सांसदले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले विपन्न बर्ग र गरिब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार सरकारले काम अघि बढाइरहेको बताएका हुन् ।

उनले वडा वडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाइएको उल्लेख गर्दै आगामी बर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भइसक्ने दाबी गरे ।

नेपाल लगायत विश्वभर नै नसर्ने रोगका रोगीहरु तिब्र गतिमा बढ्दै गईरहेको भन्दै त्यसका लागि सरकारले डायलासिस सेवा निशुल्क गराएको र किड्नी ट्रान्सपलाण्ट गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको बताए ।

यसैगरी क्यान्सर लगायतका ८÷ ९ किसिमका रोगहरु उपचारका लागि सरकार आर्थिक सहयोग उपलब्ध गराउँदै आएको पनि स्पष्ट पारे ।


उनले स्वास्थ्य मन्त्रालय अन्र्तगतका कर्मचारी समायोजनको समस्या चाँडै समाधान गर्ने प्रयास भइरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्