विप्लव बन्दको प्रभाव काठमाडौँ उपत्यकाम कम, जावलाखेलमा प्रेसर कुकर बम भेटियो, सेनाद्वारा डिस्पोज
काठमाडौँ, असार १० ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ ।
प्रहरीको गोली लागेर सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा कम परेको छ ।
गएको बिहीबार दिउँसो प्रहरीको गोली लागेर सर्लाहीको लालबन्दी–१ लखनदेहीस्थित जंगलको पश्चिम तर्फ रहेको उत्तर–दक्षिण बाटोमा पौडेलेको मृत्यु भएको थियो । घटनाबाट आक्रोशित भएको विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि बन्द आह्वान गरेको हो । उसले प्रहरीले इन्काउन्टर गरेर मारेको आरोप लगाएको छ ।
तर सरकारले भने दोहोरो झडपमा पौडेलको ज्यान गएको बताएको छ । राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा पौडेलको मृत्यु भएको दाबी गरेका छन् । तर सत्तारुढ दलकै सांसदमा विवाद रहेको छ ।
बन्दलाई लिएर सरकारले सुरक्षाव्यवस्था कडा बनाएको छ । अरु दिनको तुलनामा सार्वजनिक गाडी कम चलेका छन् । तर प्रभाव कम देखिएको छ । सार्वजनिक गाडीहरु थोरै भए पनि चलेका छन् । निजी सवारी साधन भने निर्वाध रुपमा चलेका छन् ।
ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडी होटलको सटरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।
प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार जावलाखेलमा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनालाई खबर गरिएको थियो ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । गएको बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो । बम विप्लव समूहले नै राखेको प्रहरीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्