इटहरीका मेयर चौधरीमाथि पार्टीले छानबिन गर्ने , चित्त बुझ्दो जवाफ नआएमा थप कदम चालिने चेतावनी

काठमाडौं , असार ७ । सार्वजनिक रुपमै निरन्तर अर्मयादित भाषा प्रयोग गरी विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका विषयमा पार्टीले छानबिन गर्ने भएको छ ।

पत्रकारलाई धम्कीका साथै महिलाहरुको चरित्र हत्या गर्ने खालका अपशब्द प्रयोग गरेकाले उनीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले छानबिन गर्ने भएको हो। यसबारे भोलि आइतबार छलफल हुने सुनसरी नेकपा जिल्ला अध्यक्ष पप्पु मण्डलले जानकारी गराए ।

नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले मेयर चौधरीलाई पत्रकारसँग पुनः त्यस्तै व्यवहार नगर्न निर्देशन दिएको बताए। उनले भने, ‘पत्रकारको विषय हल हुँदै गएपछि पुनः अपाच्य खालका अभिव्यक्तिहरु आएको सुनिएको छ । जिल्लाका नेताहरुलाई पनि (चौधरी) का बारेमा कुरा गर्न भनिएको छ ।’

चौधरीसँग पार्टीले कुरा गरिसकेपछि चित्त बुझ्दो जवाफ भएन भने थप कदम चालिने घिमिरेले जानकारी गराए । प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको बोली अशोभनीय र पार्टी हितविपरीत रहेको प्रदेश कमिटीलाई जानकारी गराएको जिल्ला अध्यक्ष मण्डल बताउँछन् ।

‘मेयरको बोलीले पार्टीको पनि बद्नाम गरेको छ, उनले भने, उहाँलाई के गर्ने भन्ने विषयमा आइतबार बैठक राखिएको छ।’ यसैबीच, महिलाहरुमाथि चौधरीले अपशब्द बोलेको सन्दर्भमा महिला संघसंस्थाहरुले पनि आइतबार इटहरीमा बैठक डाकेको बताइएको छ ।

चौधरी पटक पटक विवादमा तानिदै आएका छन् । यस अघि पत्रकारको विषयलाई लिएर उनी विवादमा आएका थिए । विवादमा आएपनि उनले माफी माग्दै आफ्नो गल्ति स्वीर्कादै आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्