सात हजार क्विन्टल खाद्यान्न केरुङबाट हिल्सा हुँदै हुम्ला आउने, ढुवानी सुरु
कठमाडौं, असार ६ । सात हजार क्विन्टल खाद्यान्न केरुङबाट हिल्सा हुँदै हुम्ला आउने भएका छन् ।
चालु आर्थिक वर्षका लागि थप कोटाको ७ हजार क्विन्टल खाद्यन्न काठमाडौँ–केरुङ–हिल्सा हुँदै सिमकोट ढुवानी प्रकृया सुरु भएको छ।
खाद्यान्न ढुवानीका गर्न संस्थानसँग सम्झौता गरेपछि उक्त नाकाबाट खाद्यान्न ढुवानी सुरु हुने भएको हो।
यस मार्गबाट खाद्यान्न ढुवानी भए प्रति केजी २० देखि ३० रुपैयाँ सस्तो पर्ने सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार श्रेष्ठले बताए।
हाल नेपालगंजबाट प्रतिकेजी १ सय १५ रुपैयाँ र सुर्खेतबाट प्रतिकेजी १ सय ५ रुपैयाँ एयरलाईन्सहरुले खाद्यान्न ढुवानी गरि रहेका छन्।
पहिलो चरणमा खाद्य संस्थानको सिमकोट शाखाका लागि थप भएको चार हजार क्वीन्टल खाद्यान्न ढुवानीका लागि श्रेया देउती बज्यै जेभीसँग सम्झौता भएको र अबको केही दिनमा ठेकेदार कम्पनीले संस्थानबाट खाद्यान्न बुझेर केरुङतर्फ लैजाने र प्रकृया मिलाएर चीन हुँदै हिल्साबाट याल्बाङसम्म गाडी र त्यताबाट खच्चडमा सिमकोट ढुवानी गरिने सम्झौता भएको खाद्य संस्थानका प्रबन्धक योगेन्द्र गौचनले बताए।
ठेकेदार कम्पनीसँग खाद्यान्न ढुवानीका लागि काठमाडौँ देखि सिमकोटसम्म पैदल मार्गको प्रति क्वीन्टल ८ हजार ४ सय ९५ रुपैयाँ सम्झौता भएको र ठेकेदारले चाँडै खाद्यान्न बुझेर ढुवानी सुरु गर्ने उनले बताए।
उक्त खाद्यान्न ठेकेदार कम्पनीले असार मसान्त भित्र ढुवानी गरि सक्नु पर्नेछ। त्यसै गरि याल्बाङ बिक्री केन्द्रका लागि थप गरिएको तीन हजार क्वीन्टल खाद्यान्न पनि ढुवानीको व्यवस्थाको सुरु भएको छ।
उक्त मार्गबाट खाद्यान्न ढुवानी सहज रुपमा हुने र चाँडो पनि ढुवानी हुने भएको कारण जिल्ला खाद्य व्यवस्थापन समितिले पैदल मार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था गर्न माग गरेको थियो।
प्रतिक्रिया दिनुहोस्