अन्तर्राष्ट्रिय योग दिवसः सूर्योदय आवासीय माध्यमिक विद्यालयले यसरी मनायो ( फोटोसिहत )

पार्वती पाठक काठमाडौं, असार ६ । सूर्योदय आवासीय माध्यमिक विद्यालयले पनि आज अन्तराष्ट्रिय योग दिवस मनाएको छ ।

योग दिवस विशेष अवसरमा विद्यालयले एक कार्यक्रमको आयोजना गरी मनाएको हो ।

जीवन विज्ञान प्रयोगशाला घट्टेकुलो केन्द्र तथा सूर्योदय आवासीय माध्यमिक विद्यालयकोे संयुक्त आयोजनामा दिवस मनाइएको शिक्षिका दुर्गा दाहाल (पाण्डेले) बताउनु भयो ।

“Climate Action” भन्ने नाराका साथ विहान प्रभात फेरीबाट शुरु भएको कार्यक्रम मैतिदेवी, डिल्लीबजार, घट्टेकुलो हुँदै विद्यालय प्राङ्गणमा पुगेर योग शिविरमा परिणत भएको थियो ।

उक्त कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक प्रतीक शर्माले अन्तराष्ट्रिय योग तथा ध्यान साधनाको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

यस्तै उनले उपस्थित सम्पूर्ण महानुभावहरूलाई योग को प्रशिक्षण पनि दिनुभएको थियो ।


विद्यालयका प्रिन्सिपल लक्ष्य बहादुर के.सी.ले २१ औँ शताब्दीमा हरेक विद्यालयमा योग प्रशिक्षण र प्रशिक्षक अनिवार्य हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

योग कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरू, अतिथि तथा योग प्रेमी महानुभावहरूको विशेष उपस्थिति रहेको विद्यालयले जनाएको छ ।

यसैबिच आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । २१ जुनमा विश्वभर योग दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा शुक्रबार बिहान अन्तर्रा्ष्ट्रिय योग दिवस मूल समारोह समितिले काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ । प्रभातफेरीपछि लाजिम्पाटस्थित ला शेर्पा रेष्टुरेन्ट परिसरमा योगाभ्यास समेत गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

अन्तर्रा्ष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।

संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत राखेको छ ।

योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने योग गुरुहरु बताउँछन् ।

नेपाल लगायत विश्वभरि मानवीय जीवन शैलीमा परिवर्तन भैरहेको छ। बदलिँदो जीवनशैली, गलत खानपान, आवश्यक पोषण व्यायामको कमीले रोगको संक्रमण बढ्दो छ।

मानिसको जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न योगाले मद्दत गर्दछ।

प्रतिक्रिया दिनुहोस्