इटहरीका मेयर द्वारिकालाल चौधरी पुनः विवादमाः महिलामाथि अपशब्द र तथानाम!

काठमाडौं, असार ५ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी पुनः विवादमा परेका छन्।

मेयर चौधरीले पछिल्लो पटक महिलाहरुप्रति अश्लील अभिव्यक्ति दिएका कारण विवादमा परेका हुन्।

बुधबार इटहरीको वडा नम्बर १६ र १७ मा नागरिक समाजद्वारा आयोजित समाजिक विकृतिका विरुद्ध अभियान कार्यक्रममा महिलाहरुमा लक्षित गर्दै अपशब्द बोलेका थिए।

इटहरीमा बढ्दो वेश्यावृत्ति रोक्नका लागि मेयर चौधरीले कार्यक्रममा अशोभनीय शब्द प्रयोग गरेका थिए।

उनले पटकपटक इटहरीको लबिपुर चोकलाई ‘र‘ जिन्दावाद’ भन्दै भाषण गरेका थिए। उनले सो क्षेत्रमा र‘ कै कारण घरभाडा चल्ने, र‘ कै कारण औषधी पसल चल्ने, मनोरञ्जन गर्न र.. चाहिने जस्ता अपशब्द बोलेका थिए। सोही कारण इटहरी बदनाम भएको मेयर चौधरीको भनाइ थियो।

नेकपा प्रदेश एक कमिटी सदस्य मेयर चौधरीको विषयमा प्रदेश कमिटी समेत अन्योलमा देखिएको छ।

नेकपा प्रदेश एक कमिटीका इन्चार्ज भीम आचार्यले यस अघिको गतिविधिका विषयमा मेयर चौधरीसँग छलफल भएको भए पनि बुधबारको विषयमा बुझ्नुपर्ने बताए।

उनले भने, ‘यस विषयलाई गम्भीरतापूर्वक लिँदै घटनाक्रम हेर्नेछौँ। यसअघिको घटनापछि पनि उहाँलाई मैले नै त्यसरी काम नगर्न सुझाव दिएको थिएँ।’

यद्यपि मेयर चौधरीले सुझावलाई मनन् गरेको देखिएन। उनी पुन एकपछि अर्को गर्दै विवादास्पद घटनामा फस्दै आएका छन्।

मेयर चौधरी निकटस्थका इटहरी उपमहानगरपालिकाका कर्मचारीले भने, ‘सार्वजनिक कार्यक्रममा मेयर चौधरी त्यस प्रकारको शब्द प्रयोग गर्नु हुँदैन थियो। उनले प्रयोग गरेका शब्दहरु आपत्तिजनक र असभ्य छ, यसमा हामी पनि दुखी छौँ।’

त्यसैगरि, नेकपा प्रदेश एक कमिटीका सहइन्चार्ज सावित्री कुमार काफ्ले पछिल्लो समय आफूहरु औपचारिक रुपमा छलफलमा नबसेको हुनाले अहिले नै भन्ने अवस्थामा नरहेको बताउँछन्। हाल काठमाडौंमा रहेका काफ्ले भन्छन्, ‘मैले राम्ररी अध्ययन गरेको छैन। पहिले छलफल गछौँ। त्यसपछि उहाँसँग कुरा बुझ्ने छौँ।’

मेयर चौधरी यसअघि पनि पत्रकारमाथि विभिन्न किसिमका गालीगलौज, लाञ्छना लगाउँदै विवादास्पद बनेका थिए। उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा इटहरीका पत्रकारहरु जाँड खान नपाएर कुपोषणको शिकार भएको बताएका थिए।


यसअघि उनी पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्नका लागि १ करोड रुपैयाँ खर्च गर्न तयार रहेको अभिव्यक्ति दिएर विवादित बनेका थिए । र लगत्तै फेरि विवादमा परेका छन् ।

यति बेला उनको सामाजिक सञ्जालमा चर्को आलोजना भईरहेको छ । एउटा मेयर जस्तोले यस्तो अभिब्यत्ति दिएको भन्दै उनको राजिनामा समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्