सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, प्रहरीको गोली प्रहारबाट जिल्ला इञ्चार्ज मारिए

काठमाडौं, असार ५ । सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त भएको छ । प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको हो ।

लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरेका छन् ।


प्रहरीको गोली प्रहारबाट प्रतिवन्धित विप्लवका समूहका एक नेताको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।


पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो ।

पोखरेलले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको बताए ।

घटनापछि तीन जना जंगलतर्फ भागेको बताइएको छ । नम्बर नखुलेको एफजेट बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा उनीहरु सवार रहेको बताइएको छ ।

यसैबीच घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीसहितको टोली पुगेको प्रदेश नम्बर २ का प्रहरी प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

यसअघि भोजपुरमा विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीसँगको भिडन्तमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्