हुम्ला जीप दुर्घटना : उपाध्यक्षको झोला भेटियो, जीप र यात्रु अझै भेटिएनन्

काठमाडौं, असार ५ । जीप कर्णाली नदीमा खसेको दुई दिन पछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेटिएको छ ।

जीप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ उपाध्यक्ष शाहीको एउटा झोला भेट्टाएको स्थानीयवासीले बताएका छन् ।

दुर्घटनामा पर्नुभएकी उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

जीप कर्णाली नदीमा खसेको दुई दिन बितिसक्दा पनि अवस्था भने अझै थाहा हुन सकेको छैन ।


गोताखोरसहित सुरक्षाकर्मीले खोजी गरिरहे पनि कर्णाली नदी बग्ने भूबनोटले अप्ठ्यारो बनाएको छ ।


जीप खसेको ठाउँमा कच्ची सडकको बीचमा ठूलो ढुंगा छ । त्यो ढुंगाला छल्न चालकले स्टेरिङ देब्रे मोडेर दाहिनेतर्फ मोड्दा गति तीव्र भै जीप नदीमा खसेको अनुमान गरिएको छ ।

जीप खसेको स्थान कैलेवालुमा १० मिटर फराकिलो गरी नदी बगेको छ । नदी पनि निकै गहिरो छ ।

नदीको पानी धमिलो हुनु, पानीको बहाव तीव्र हुनु, ठूला भिर र चट्टानका कारण उद्धारका लागि थप चुनौती देखिएको छ ।

दुर्घटनास्थलमा सडक निर्माण कार्य भैरेहको हुँदा पनि नदी किनारमा जान सजिलो छैन ।


हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ ज ७१६६ नम्बरको जीपको खोजी कार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगे पनि पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।


खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार जीपमा गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाही, खार्पुनाथ–४, छिप्राका चन्द्र हमाल, खार्पुनाथ–४, नल्लाका नैनसिंह भण्डारी, जीप चालक मणि शाही, खार्पुनाथ–५, याङ्चुका बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, खापुर्नाथ–१ का कौँरा दमाई र उनका दुई वर्षीय छोरा रहेका थिए ।

मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि बुधबार साँझसम्म खोजीकार्य जारी रहे पनि जीप दुर्घटनामा रहेका यात्रु भेट्टाउन नसकिएको हो ।

प्रतिक्रिया दिनुहोस्