केही दिनयता राजधानीमा युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै ,४ युवतीमाथि सिरिन्ज प्रहार

काठमाडौँ , असार ४ । राजधानीमा पछिल्लो केही दिनयता युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन् ।

दुई साताको अवधिमा राजधानीका ४ जना युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्जले आक्रमण गरेर भागेको पाइएको छ ।

सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारमा छन् । उनीहरु चिकित्सकको नियमित निगरानीमा छन् । आक्रमणमा परेका युवतीको उमेर २० देखि २५ बिचमा रहेको छ।

सिरिन्ज आक्रमण परेका व्यक्तिमा एचआइभी, हेपाटाइटिस बि, हेपाटाइटिस ‘सि’लगायतका रोगको संक्रमण हुन सक्ने भएकाले उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका छन् ।

अस्पतालले उनीहरुलाई ती रोगको संक्रमणबाट जोगाउन आवश्यक उपचार र खोप लगाइदिएको छ ।अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार अस्पतालमा उस्तै प्रकृतिका आक्रमणमा परेका ४ युवती उपचारका लागि आएका छन् ।

‘आक्रमण भएको स्थानमा सिरिन्जको जस्तै प्वाल भेटिएको छ,’ उनले भने, ‘ठ्याक्कै सिरिन्ज होरहोइन भन्ने यकिन त छैन तर, सियोजस्तै तिखो वस्तुले आक्रमण भने गरेको बुझिन्छ ।’

अस्पतालमा उपचार गर्न आएका युवतीहरुसँग डा. बस्तोलाले गरेको कुराकानीअनुसार मोटरसाइकलमा आएका युवाले आक्रमण गरेका छन्। ‘उहाँहरु सबैलाई एकैखालको आक्रमण भएको देखिन्छ,’ उनले भने, ‘सुरुमा एउटा मात्र केस आउँदा सामान्य लागेको थियो । तर, लगातार ४ वटा आएपछि यो घटनामा केही रहस्य छ जस्तो लागेको छ ।’

सिरिन्जले आक्रमण गरेको व्यक्तिमा संक्रमण भएको थाहा पाउन ३ महिना लाग्ने उनले जानकारी दिए। ‘आक्रमण लगत्तै एचआइभी, हेपाटाइटिसजस्ता संक्रमणका बारेमा थाहा पाउन सकिँदैन,’ उनले भने, ‘त्यसकारण हामीले उहाँहरुलाई संक्रमणबाट जोगाउने खोप र उपचार प्रक्रिया अगाडि बढाएका छौं ।’

युवतीमाथि सिरिन्ज आक्रमणका विषयमा प्रहरीमा समेत उजुरी परेको छ। प्रहरीले पनि यो विषयमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ। महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीका अनुसार हालसम्म ३ जना युवतीमाथि सिरिन्ज आक्रमण भएको छ । ‘ढल्कु र पकनाजोलमा ३ जना युवतीमा आक्रमण भएको खबर आएको छ,’ उनले भने, ‘यो विषयमा हामीले आवश्यक अनुसन्धान अगाडि बढाइसकेका छौं ।’

आक्रमणकारीले युवतीमाथि आक्रमण गरेपछि चोरी तथा अन्य कुनै दुःख नदिएका कारण किन आक्रमण गरिरहेका छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

उनले एसिड आक्रमणजस्तै यो आक्रमण पनि बदलाका लागि लिएको हो वा अन्य केही कारण छ भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

चिकित्सकले भने घटनाको प्रकृति हेर्दा आक्रमणकारीले युवतीहरुमा रोग सार्ने नियत राखेका वा आफैँ मानसिक समस्या भएको बिरामी हुनसक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्