एनएमबी माइक्रो फाइनान्समा कार्यरत एक युवतीको बीच जङ्गलमा घाँटी रेटी हत्या , नगद पनि लुटियो

काठमाडौं, असार ४ । पाँचथको हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत एक युवतीको साथमा रहेको पैसा लुट्न कै लागि उनको घाँटी रेटी हत्या भएको छ ।

हिलिहाङ गाउँपालिका–६ की २० वर्षीया सुजाता तामाङको साथमा रहेको पैसा लुट्नको लागि हत्या भएको प्रहरीले जनाएको छ ।

सुजाताको साथमा रहेको ७८ हजार ५ सय रुपैयाँ हत्यामा संलग्नहरुले लुटेर लगेको प्रहरीले बताएको छ ।

मंगलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको अनुसन्धानमा खुलेको छ ।


उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर जोरपोखरी फर्कदै गरेकी तामाङलाई जङ्गलको बीचमा रहेको गोरेटो बाटोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरी निरीक्षक पौडेलका अनुसार झोलामा रहेको नगद लुट्ने क्रममा झोला चुँडिएको र त्यहाँ रहेको नगद लुटिएको पाइएको छ । मृतक तामाङको घाँटी, हात र पेटमा धारिलो हतियार प्रहार गरिएको थियो ।

प्रहरीका अनुसार तामाङले दिउँसो करिब ३ बजे आफ्ना बाबुलाई फोन गरेर आफू आफू कार्यक्षेत्रमामा रहेको जानकारी दिएकी थिइन् । सोही समय आसपासमा उनका एक केटा साथीले उनी बैठकमै रहेको समयमा फोन गरेका थिए । पछि तामाङले लामो समय फोनमा कुराकानी गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस आधारमा तामाङको ३ बजेदेखि ३ः३० बजेभित्र हत्या भएको प्रहरीको अनुमान छ । प्रहरीले तामाङबारे राम्रोसँग जानकारी भएका व्यक्तिबाट हत्या भएको अनुमान गरेको छ ।

‘उनीसँग पैसा छ भन्ने जान्ने मान्छेबाटै हत्या भएको हुनुपर्छ,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘कसैले सूचना दिएर वा बाटो ढुकेर हत्या गरिएको हुनुपर्छ ।’

इलामको माइजोगमाई गाउँपालिका–५ सोयाङ घर भएकी २० वर्षीया तामाङ केही महिनादेखि एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा फिल्ड कर्मचारीको रुपमा कार्यरत थिइन् ।

उनी इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत रहेको खुलेको छ ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले रकम सङ्कलन गरेर हिँडेकी तामाङबारे कसैले हत्यारालाई सूचना दिएको वा उनीबारे हत्यामा संलग्नले नियमित पिछा गरेको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीले मङ्गलबार रातिदेखि घटनास्थल आसपासका क्षेत्रमा अनुसन्धान तीव्र पारिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्