भक्तपुर अस्पतालका ३५ जना कर्मचारी आन्दोलनमा, आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प

काठमाडौं, असार ४ । भक्तपुर अस्पतालका आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प भएको छ ।

अस्पतालका कर्मचारीले विभिन्न पेशागत मागहरु राखेर आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गराएका हुन् ।

कर्मचारीको आन्दोलनका कारण अस्पतालका आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ ।

अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाँधेर ३५ जना कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् ।

अस्पतालको मेडिकल सुपरिटेण्डन डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ जना कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।


आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेका हुन् ।

सरकारले अस्पताल विकास समिति खारेज गरेर मेडिकल सुपरिटेण्डनलाई अधिकार दिएपछि डा. देवकोटाले नियम विपरित यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ति गरेको कर्मचारीको नियुक्तिसमेत खारेज गरेको सूचना टाँस गर्नुभएको आन्दोलनरत कर्मचारीहरूको संगठनका अध्यक्ष मदन द्यौलाले बताए ।

उनले यसअघि पाउँदै आएको सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेडसमेत काटिएकोले सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।

अस्पतालमा गएको २२ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ जना कर्मचारीलाई साउनदेखि नियुक्ती नविकरण नगर्ने भएकाले उनीहरुको पुनर्बाहलीको समेत माग गरेको उनले बताए ।

मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समिति, करार, ठेक्काका कर्मचारीले अनधिकृत रूपमा सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेपछि मन्त्रालयले त्यस्ता सुविधा रोक्न पत्राचार गरेको थियो ।

यता आन्दोलनका बारेमा विकास समितिका अध्यक्ष मिलन सुवालले भने वार्ता कमिटी बनाएको बताए । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. देवकोटाले भने– ‘मैले गर्नुपर्ने सबै माग पूरा गरिसके, अब मन्त्रालयले पूरा गर्ने माग मात्रै बाँकी छ ।’


यसरी अस्पतालका सेवा ठप्प हुँदा बिरामीलाई सास्ती भएको छ । उनीहरुको उपचारमा समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्