डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा चिकित्सकको मनपरिः ११ चिकित्सक एकैपटक बसे बिदामा , बिरामीको बिच्चली

काठमाडौं, असार २ । डडेल्धुरा उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सक एकै पटक बिदामा बसेका छन् ।

उपचारका क्रममा चिकित्सकको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको प्रत्याभूति माग गर्दै चिकित्सकहरु एकै पटक बिदामा बसेका हुन् ।

डाक्टरहरू ललिल सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभास लामिछाने, विकास दुवाडी, विभव बस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डबल बुढा बिदामा बसेका हुन् ।

उनीहरूले मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेललाई आफूहरू बिदामा बसेको सूचना विज्ञप्तिमार्फत् दिएका छन् ।

अमरगढी नगरपालिका–६ की २५ वर्षीया गीता ताम्राकारको शनिबार शल्यक्रियाको क्रममा मृत्यु भएपछि स्थानीयले अस्पतालमा प्रदर्शन गरेका थिए । सुत्केरी भएको १७ दिनपछि रक्तश्राव भएर उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

अहिले चिकित्सक लगायत अस्पताल कर्मचारीहरुलाई स्थानीय सरोकारवालाहरुको मौखिक आग्रहमा डाक्टरहरुले काममा फर्कने प्रतिबद्धता जनाए पनि अस्पतालको अवस्था भने अझै तनावपूर्ण नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्