अन्ततः गुठी विधेयकमा पछि हट्यो सरकार, परिमार्जन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, असार २ । अन्नततः गुठी विधेयकमा सरकार पछि हटेको छ ।

राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्याललाई विधेयक परिमार्जन गर्न निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्रीले आवाश्यक परामर्शपछि गुठी विधेयक परिमार्जन गर्न निर्देशन दिइसक्नुभएको छ’ बालुवाटार निकट स्रोतले बताएको छ ।

आफू देश बाहिर भएका बेला गुठी विधेयकको विरोधमा भएको आन्दोलनलाई नियालिरहेका प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्कने क्रममै त्रिभुवन विमानस्थलमा गल्ती भए सच्चाउन तयार रहेको सन्देश दिएका थिए ।

गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।

यो विधेयक राष्ट्रिय सभामा दर्ता भएसँगै चौतफी विरोध र आलोचनासँगै आन्दोलन सुरु भएको थियो ।

काठमाडौ उपत्यका लगायत उपत्यका बाहिरका जिल्लामा समेत विरोध चर्कन थालेपछि सत्तारुढ दलका सांसदहरुले विधेयक सच्चाउनुपर्ने भन्दै सरकारलाई दबाब दिन सुरु गरेका थिए ।

गुठीसम्बन्धी कानुन बनाउन राष्ट्रिय सभामा दर्ता भएको यो विधेयककोे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै अन्य राजनीतिक दल, विभिन्न संघ संस्था र पुर्व राजा ज्ञानेन्द्र शाहले समेत चासो देखाएर विरोध गर्नुका साथै विधेयककै कारण सरकार नै ढाल्ने चेतावनी समेत दिएपछि सरकार पछि हट्न बाध्य बनेको हो ।

यसअघि सत्तारुढ दलकै कतिपय सांसद र नेताहरुले समेत गुठी विधेयक जस्ताको तस्तै पारित गर्न नहुने धारणा सार्वजनिक गर्दै आएका थिए ।


नेकपाका नेता झलनाथ खनाल, योगेश भट्टराई, जनार्दन शर्मा लगायतका नेताहरुले समेत विधेयकका कमजोरी औँल्याएर सच्याउनुपर्ने सुझाव दिएपछि ओली नेतृत्वको सरकार रक्षात्मक बन्दै विधेयक परिमार्जन गर्न तयार भएको हो ।

विधेक फिर्ता लिन माग गर्दै विभिन्न स्थानमा विशाल विरोध प्रदर्शन भएकको थियो । विभिन्न समुहले सडक देखि सरकार ढाल्ने सम्मका आन्दोल गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्