अत्याधिक गर्मीका कारण प्रदेश २ का अधिकांश विद्यालय बन्द, गर्मीबाट बालबालिका बिरामी पर्न थाले

काठमाडौं, असार १ । अत्याधिक गर्मीका कारण प्रदेश २ का अधिकांश विद्यालय बन्द गरिएको छ ।

४२ डिग्री सेल्सियसभन्दा बढी तापमान बढ्न थालेपछि गर्मीका कारण प्रदेश नम्बर २ स्थित विभिन्न जिल्लाहरुमा विद्यालय बन्द गर्न थालिएको हो ।

धनुषा, महोत्तरी, बारा लगायतका जिल्लाका विद्यालय आइतबारबाट बन्द गरिएको हो । धनुषाका विद्यालयहरु सोमबारबाट करिब एक साताको लागि बन्द गरिने भएका छन् ।

अत्याधिक गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् भने विद्यालय आवतजावत गर्न समेत समस्या हुँदै आएको छ । यता, महोत्तरीका विद्यालयहरु पनि अत्यधिक गर्मिका कारण बन्द गरिएको छ ।
महोत्तरीको जिल्लाका १० नगरपालिका र ५ गाउँपालिकासहित १५ स्थानीय तहमध्ये आधाले विद्यालय बन्द गरेका छन् भने आधाले बन्द गर्नका लागि छलफल नै थालेको छ ।

त्यस्तै बाराका विद्यालयहरु आज देखि नै बन्द गरिएको छ । बिहान देखि नै चर्को घामको राप बेलुका सम्म बढेपछि विद्यालय बन्द गरिएको स्थानीय पालिकाले जनाएका छन् ।

केहि दिनदेखि एकाएक गर्मी बढेपछि शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका सबै पालिकाहरुलाई विद्यालय बन्द गर्न पत्राचार नै गरेको छ ।


अत्याधिक गर्मीका कारण बालबालिकालाई पठनपाठनमा समस्या देखिएको भन्दै असार २ गते देखि असार ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको धनुषाका इकाइ प्रमुख भरखुप्रसाद रजकले जानकारी दिए ।
केहि दिन यता देशैभर गर्मी बढेको छ ।

गर्मीका कारण विभिन्न रोग लाग्न सक्ने भएकाले डाक्टरहरुले प्रशस्त पानी पीउन सुझाव समेत दिएका छन् । र गर्मीको समयमा त्यति बाहिर ननिस्कन पनि डाक्टरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्