संसदमा गगन थापाले भने : होसियार !अब यहाँ सरकारका अरिंगालहरु बाहेक अरु सुरक्षित रहने अवस्था छैन

काठमाडौँ , असार १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको कानुनले कोही पनि सुरक्षित नभएको बताएका छन् ।

विधेयक जस्तोको त्यस्तै पारित भएमा नेकपाका कार्यकर्ता मात्र सुरक्षित रहने थापाको जिकिर थियो । ‘विधेयक जस्ताको त्यस्तै पारित भएमा अब यहाँ सरकारका अरिंगालहरु मात्र सुरक्षित रहन्छन् ।

यस्तै गरी पारित हुने हो केही पनि बाँकी रहने छैन । जर्मन कविले भने जस्तै हुनेछ ।’ उनले भने

आइतबार संसद बैठकमा बोल्दै उनले सरकारले ल्याएको सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको उल्लेख गरे ।

सांसद थापाले सरकार एकपछि अर्को नागरिकका अधिकार कुण्ठित हुने गरी कानून बनाउन लागेको आरोप समेत लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा सांसद थापाले सूचना प्रविधि विधेयक, गुठी विधेयक लगायतका विधेयक नागरिकको अधिकारलाई समाप्त पार्ने गरी सरकार अघि बढेको उनले आरोप लगाएका हुन् ।

थापाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अभिव्यक्ति स्वतन्त्र कस्तो हुन्छ भन्ने थाहा भएको बताए पनि देशभित्र भने उल्टो व्यवाहार गरेको अरोप लगाए ।

‘बेलायतको अक्सफोर्डमा प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्र कस्तो हुन्छ भन्ने थाहा छ भन्नुभयो । तर, सरकारले यहाँ जति बेला जहाँ पनि मुख थुन्न पाउने गरी सरकारले कानून बनाउन लागेको छ ।’

उनले सूचना प्रविधि विधेयकमा अमुर्त प्रावधान राखेर सामाजिक सञ्जालमा सामान्य प्रतिक्रिया जनाउँदा पनि जेल जानुपर्ने अवस्था आउन लागेको भन्दै सबैलाई सचेत रहन आह्वान गरे ।

संसदको विकास समितिको उपसमितिले तयार पारेको प्रतिवेदनमा सरकारले प्रस्ताव गरेको प्रावधानलाई नै अनुमोदन गरेको छ । विधेयकमा सामाजिक सञ्जालबाट झुक्याउने, होच्याउने, खुइल्याउने, धम्क्याउने जस्ता काम गरेमा पाँच वर्ष कैद र १५ लाख सम्म जरिवाना भोग्नु पर्ने प्रावधान राखिएको छ ।

थापाले आक्रोशित हुँदै संसदमा भने, ‘ झुक्याउने, होच्याउने, खुइल्याउने, धम्क्याउने जस्ता अमुर्त शब्दको परिभाषा के हो ? यस्तो अस्पष्ट व्यवस्था नागरिकको अधिकार सुरक्षित रहला?’ सूचना प्रविधि विधेयकमा भारतले यस्तै कठोर कानुन बनाउँदा अदालतले खारेज गरेको उदाहरण दिँदै त्यसका विरुद्ध लेख्न बोल्ने र आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्