लोकसेवाको विज्ञापन नरोक्न माग, रोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं, जेठ ३२ । हालै खुल्ला गरेको लोकसेवाको विज्ञापन नरोक्न माग गरिएको छ ।

लोकसेवा तयारी विद्यार्थी सङ्घर्ष समितिले लोकसेवा आयोगले विज्ञापन प्रक्रिया अघि बढाउन माग गरेको हो ।

स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए लाखौँ युवा डिप्रेशनको शिकार हुने सो समितिले जनाएको छ ।


उक्त सङ्घर्ष समितिद्वारा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड भए सरकारविरुद्ध कडा आन्दोलन गरिने चेतावनी दिएको छ ।

सङ्घर्ष समितिका संयोजक मङ्गल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगतदेखि नै हुँदै आएकाले यसपटक पनि विज्ञापन रोकिए देशभरबाटै आन्दोलन शुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन माग गरे ।

सह–संयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको सोे विज्ञापनले देशमा दूरगामी असर पर्ने बताए ।


यति बेला लोक सेवा विज्ञापन विवादमा परेको छ । यसको छिनोफनो भने असार ३ गते हुने भएको छ ।
यता
विद्यार्थी संगठनले लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला जलाएका छन् । सप्तरीका विद्यार्थी संगठनले राजविराजमा शनिबार लोकसेवा आयोगका अध्यक्ष मैनालीको पुत्ला जलाएका हुन् ।

स्थानीय तहको विज्ञापन विभेदकारी रहेको भन्दै नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम, अखिल क्रान्तिकारी लगायतले आयोगका अध्यक्षले राजीनामा दिनुपर्ने, विज्ञापन रद्द गर्नुपर्ने र समावेशी सिद्धान्तको आधारमा विज्ञापन आह्वान गर्नुपर्ने माग गर्दै चरणवद्ध आन्दोलन घोषणा समेत गरेका छन् ।

आयोगले संघीयता, समावेशीता तथा समानुपात विपरीत निकालेको विज्ञापन नसच्याएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत विद्यार्थी संगठनहरुले दिएका छन् ।

विरोध कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवसहित विद्यार्थी नेताहरु तारकेश्वर यादव, दिपक कुमार यादव, घनानन्द यादव, रामचन्द्र यादव, लक्ष्मण यादवलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्