डडेल्धुरा अस्पतालमा तनाव सिर्जनाः सुत्केरीको ज्यान गयो, चिकित्सले लापर्वाही गरेको भन्दै पीडित पक्षद्वारा प्रदर्शन

काठमाडौं जेठ ३२ । डडेल्धुरा अस्पतालमा एक सुत्केरीको ज्यान गएको छ । ज्यान जानेमा २६ वर्षीया गीता ताम्राकार रहेकाी छन् ।

सुत्केरीको ज्यान गएपछि यति बेला डडेल्धुरा अस्पतालमा तनाव सिर्जना भएको छ । चिकित्सकको लापर्वाहीले सुत्केरीको ज्यान गएको भन्दै महिला अधिकारकर्मीहरुले डडेल्धुरा अस्पताल र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन् ।

ताम्राकारको सुत्केरी भएको १४ दिनसम्म पनि रगत जान नरोकिएपछि शुक्रबार अस्पतालमा नै ज्यान गएको हो ।

लगातार ‘रगत गएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले आठ पिन्ट रगत दिए पनि बचाउन नसकेको’ एक जना स्वाथ्यकर्मीले बताए ।

यता सुत्केरीको अवस्था गम्भीर भएपछि उनलाई आठ पिन्ट रगत दिएर अन्यत्रै अस्पतालमा लैजान अस्पतालले हेलिकोप्टरको समेत व्यवस्था गरिदिएको थियो । तर बिरामीको अवस्था सामान्य रहेको भन्दै हेलिकोप्टर फिर्ता गरिएको स्थानीय निसा ताम्राकारले बताइन ।

आफन्तहरुले बिरामीको अवस्था गम्भीर हुँदा पनि परिवारका सदस्यलाई जानकारी नदिइएको, चिकित्सकहरुले अन्यत्रै अस्पतालमा रेफर गर्न नमानेको र अपरेशनमा नै त्रुटि रहेको बताउँदै आएका छन् ।

शिशुको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । पीडित पक्षले पनि चिकित्सकले लापर्वाहीले गर्दा सुत्केरीको ज्यान गएको बताएका छन् ।

सुत्केरीका आफन्तहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

चिकित्सकको लापर्वाही या अरु नै कारणले सुत्केरीको ज्यान गएको हो, यस बारेमा अस्पताल प्रशासनले केही बोलेको छैन । आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्