नेशनल मेडिकल कलेज सञ्चालकको के.पी. ओलीद्वारा बचाउ

नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल बन्द गर्ने सरकारको निर्णय प्रति पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । आइतबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले भने “एमालेले सो कलेजका सञ्चालकलाई कुन बेला मेयरको उम्मेद्वार घोषणा गर्ला र हामी बन्द गर्ने निर्णय गरौंला भनेर सरकारका मान्छेहरु बसेका रहेछन् ।” एमालेले वीरगञ्ज महानगरपालिकाको मेयर उम्मेद्वारको लागि बसुरुद्धिन अन्सारीलाई तोकेको छ । बसुरुद्धिन अन्सारी सो मेडिकल कलेजका सञ्चालक हुन्।

“हिजो हामीले उनलाई मेयर बनाउने घोषणा गरेको सुन्ने बित्तिकै प्रधानमन्त्रीले विश्व विद्यालयको कुलपतिको हैसियतको दुरुपयोग गर्दै स्वच्छाचारी ढंगले दवावमुलक ढंगले सम्बन्धन खारेज गरे” ओलीले भने ।

नेशनल मेडिकल कलेजलाई अदालतले पटक पटक सम्बन्धन देउ भनेका कारण त्रिविले दिएको उनले बताए । “कुनै पनि संस्थाले दवाव बाहिर रहेर आफ्नै ढंगले काम गर्दा महाअभियोग ठोक्दिेलान भन्ने डर छ। निश्कासनमा परिएला भन्ने त्रास छ । लौ अन्याय भयो भनेर फरि अदालतमा कति मुद्दा मात्रै लड्ने । मान्छेले मुद्दा मात्रै लड्न त चाहन्न नि” ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्