गुठी विधेयक खारेज नभए सरकार ढाल्ने चेतावनी, काठमाडौमा प्रदर्शन

काठमाडौं, जेठ ३२ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ ।

काठमाडौंको बसन्तपुरबाट ज्यापु महागुठीलगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक संघ–संस्थाले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले सरकारले धार्मिक, सांस्कृतिक र परम्परामाथि हस्तक्षेप गरेको भन्दै विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले सरकार जनविरोधी गतिविधिमा संलग्न भएको, गुठी कब्जा गरेर कार्यकर्ताको पालनपोषणमा लागेको र भूमाफियाको बचाउ गरेको भन्दै विधेयक फिर्ता नगरे सरकार ढाल्नेसमेत चेतावनी दिएका छन् । वसन्तपुरबाट सुरु भएको विरोध प्रदर्शन न्यूरोड, टेकु, ठमेल, दरबारमार्ग, रत्नपार्क, शहिदगेट हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो ।

यसैबीच ‘गुठी विधेयक खारेजी अभियान’ले विधेयक खारेजीको माग गर्दै वसन्तपुरमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ । अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अगुवाइमा धर्ना दिइएको हो ।

जोशीले विधेयक खारेज नभएसम्म धर्ना जारी रहने बताए ।

गुठी विधेयकले धर्म, परम्परा र संस्कृतिमाथि ठाडो हस्तक्षेप गरेको, ऐतिहासिक सम्पदा सरकारले कब्जा गर्न खोजेको भन्दै धर्नामा सहभागीहरुले सम्पदा बचाउ अभियानमा सहभागी हुन आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्