सुधारका लागि कानुन बनाउँदा धक्का लाग्नु स्वाभाविक हो : प्रवक्ता बास्कोटा ! यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय

काठमाडौँ , जेठ ३० । सरकारले पछिल्लो मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन्। पछिल्लो पटक जेठ २३ गते मन्त्रिपरिषद् बैठक बसेको थियो ।

यस्ता छन् १४ वटा निर्णयहरु

१. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि , २०७६ स्वीकृत गरिएको छ।

२. सार्वजनिक खरिद (सातौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

३. इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेट(लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय।

४. सिरहा भन्सार कार्यालय विस्तारका लागि थप ४ विगाहा र ठाढी भन्सार कार्यालय विस्तारका लागि २ विगाहा ११ कट्ठा १४ धुर क्षेत्रफलको जग्गा प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम स्वीकृति प्रदान।

५. देहायको अवसरमा स्मारिका सिक्का टक्मरी गरी चलन–चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति छ–

क) धितोपत्र बोर्डको रजत जयन्ती

ख) शिख धर्मका संस्थापक गुरू नानकको जन्म जयन्ती

ग) वाङ्मय शताव्दी पुरूष सत्य मोहन जोशीको सतवार्षिक जन्मोत्सव

६. नेपाल–कम्बोडिया व्यापार तथा लगानी सम्बन्धी संरचनात्मक सम्झौता स्वीकृत गरिएको छ।

७. काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा न्याय परिषद्को सिफारिस बमोजिम उच्च अदालत, पाटनका माननीय न्यायधीश श्री मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णय ।

८. जि–टु–जी (सरकार–सरकार) प्रक्रियाबाट भारत सरकारसँग युरिया र डिएपी मल खरिद गर्न स्वीकृति ।

९. नेपाल प्रहरी महानगरीय प्रहरी प्रभाग–कमलपोखरी, काठमाडौंलाई हालको का.म.न.पा. मालिगाउँस्थित ‘शिक्षाको लागि खाद्य कार्यक्रम’को भवन र परिसरमा स्थानान्तरण गरी भोगाधिकार प्रदान गर्ने र सानोठिमी, भक्तपुरस्थित शिक्षा परिसरमा रहेको साविक शैक्षिक जनशक्ति विकास केन्द्रको भवन (हाल राष्ट्रिय युवा परिषद् रहेको भवन) र परिसरको आधामा राष्ट्रिय युवा परिषद् र बाँकीमा ‘शिक्षाको लागि खाद्य कार्यक्रम’को कार्यालय सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने निर्णय ।

१०. अध्यागमन कार्यालय, बेलहिया, भैरहवाको र प्लान्ट क्वारेन्टाइन कार्यालयका सरकारी जग्गालाई एकीकृत गरी सो जग्गामा एकीकृत रूपमा अध्यागमन कार्यालय र प्लान्ट क्वारेन्टाइन कार्यालयसमेत रहने गरी भौतिक पूर्वाधार विकास गर्ने निर्णय ।

११. राजदूत नियुक्तिका लागि निम्न बमोजिम सिफारिश –

क) डा. वंशिधर मिश्र– बंगलादेश

ख) डा. नारदनाथ भारद्वाज– कतार

ग) महेशराज दाहाल– अष्ट्रेलिया

घ) दावा फुटी शेर्पा– स्पेन

१२. प्रस्तावित नेपाल वन निगम लिमिटेड स्थापना र सञ्चालन गर्न स्वीकृति दिइएको छ।

१३. एकीकृत स्वास्थ शिक्षा सम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।

१४. संयुक्त अरव इमिरेट्स सरकार र मौरिसस सरकारसँग एमओयू मा हस्ताक्षर गर्न नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई अख्तियारी दिइएको छ ।

यसैबिच सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पछिल्ला विधेयकलाई लिएर आन्दोलन तीव्र बनेको प्रसंगलाई कोट्यादैँै कानुन बनाउँदा कतै न कतै धक्का लाग्नु स्वाभाविक भएको बताएका छन्।

पछिल्ला मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकार सुधारको विशाल बाटो खनिरहेको र त्यसबेला ठूल्ठूला चोक हुँदा कम्पास नै राख्नु पर्ने भएको बताए।

गुठी विधेयकलाई लिएर छलफल भएन भन्ने आरोपमा उनले प्रश्न गरे,‘ सामन्तवादलाई मान्ने की नमान्ने ? किसानको भूमि समस्या समाधान गर्ने की नगर्ने? भूमि प्रणालीमा सुधार गर्ने की नगर्ने ?

बास्कोटाले परिवर्तित राजनीतिक प्रणालीलाई व्यवहारमा लैजाने दायित्व र चुनौति आफ्नो सरकारको काँधमा आएको र त्यसका लागि संरचनागत सुधारको दायित्व बहन गरेको बताए।
उनले राजनीतिक तथा सामाजिक सुधारकै लागि २७ वटा कानुन संसदमा र्पुयाएको सुनाए ।

प्रतिक्रिया दिनुहोस्