चीनले नेपालमा कस्तो सरकार चाहन्छ ?

काठमाडौं । चीनले नेपालमा स्थायी सरकारमात्र चाहेको खुलासा भएको छ । चीनका एकजना वरिष्ठ राजनीतिक विष्लेषकले चीन नेपालमा सुरक्षित पाँचवर्षे स्थायी सरकार भएको हेर्नमात्र चाहेको स्पष्ट पारेर फर्केका छन् ।

तीन दिने नेपाल भ्रमणमा आई उनले नेपालप्रति चीनको भित्री चाहना स्थायी सरकारमै रहेको बताएका हुन् । तीन दिन नेपाल बसाइका क्रममा उनले अधिकांश शीर्ष दलका नेताहरूसँग र उनीहरूका विशेष दूतसँग भेटेका थिए ।

उनीहरूसँगको भेटमा चीनले आफ्नो पार्टीलाई कसरी लिन्छ भन्ने बाहेक कुनै जिज्ञासा नभएको ती चिनियाँ राजनीतिक विश्लेषकले स्पष्ट पारेका छन् ।

उनका अनुसार सबैभन्दा झट्का लाग्ने कुरा त के भने कम्युनिष्ट गठबन्धनका लागि चीनले सबैभन्दा ठूलो भूमिका खेलेको थियो भन्ने विषयलाई ‘फाल्तुकुरा’ भन्दै उनले चीनले नेपाललाई अस्थिर हैन स्थायी भएको देख्न चाहेको प्रतिक्रिया दिए ।

उनका अनुसार चीनले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको पार्टीबीच एकता गर्नका लागि कुनै भूमिकै खेलेको छैन । चीनले ओली र प्रचण्डमध्ये कुनै एककोमात्र नेतृत्वमा सरकार बनोस् भन्ने पनि चाहेको छैन ।

चीनले जोसुकैको नेतृत्वमा सरकार बने पनि पाँच वर्ष ढुक्कले एकै जनाले नेतृत्व गरेको हेर्न खोजेको छ । चीनले भारतको समेत सकारात्मक सहयोग र साथ लिएर अगाडि बढ्ने किसिमको सरकार हुनुपर्नेमा जोड दिएको छ ।

ती उच्च अधिकारीले भनेका छन्, ‘नेपाललाई चीनले मात्र सहयोग गरेर के नै हुने हो र, यहाँ त अबको सरकारको नेतृत्व गर्नेलाई हाम्रोमात्र नभइ भारतको पनि सहयोग होस् ।’ भारतको पनि सहयोग रह्यो भने नेपालले छिट्टै देशमा विकासका काम गर्न सक्ने उनको ठोकुवा छ ।
पछिल्लो राजनीतिक घटनाक्रमले केपी ओलीको प्रधानमन्त्री बन्ने सम्भावना कम हुँदै गएको छ । कम्युनिष्ट गठबन्धनको स्पष्ट बहुमत भए पनि संघीय समाजवादी फोरम र राजपा नेपाललाई समेत समेटेर नयाँ सरकार बन्न सक्छ भनी आँकलन गर्न थालिएको छ ।

ओली र प्रचण्डबीचको जुँगाको लडाइँले पार्टी एकता हुन पनि सकस हुने र सरकारमा पनि आपसी समझदारी नहुने हो कि भन्ने पनि पर्न थालेको छ । त्यसकै मौका काँग्रेसले पनि उठाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्