बिरामीलाई सरकारीबाट निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न माग, प्रधानमन्त्रीको यूरोप भ्रमण र गुठी विधेयकमाथि सरकारको ध्यानाकर्षण

काठमाण्डौ , जेठ २९ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा सांसदहरुले बिरामीलाई सरकारीबाट निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न माग गरेका छन् ।

सांसदहरुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा र्पुयाउने प्रवृत्ति बढेकामा पनि चिन्ता व्यक्त गरे ।

पछिल्लो समय त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा र्पुयाउने गरेका छन् ।

यस्तो प्रवृत्तिले सरकारी अस्पतालको खिल्ली उडाएको भन्दै सांसदहरुले तत्काल अस्पतालभित्रको विकृति अन्त्य गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

यसैगरी सुदूरपश्चिमका विभिन्न जिल्लाका हावाहुरीका पीडितलाई अहिलेसम्म राहत पुुग्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहत तथा पुनःस्थापनाका कार्यक्रम ल्याउनसमेत माग गरेका छन् ।

त्यस्तै सांसदहरुले गल्छी(रसुवागढी सडक प्रभावितले अहिलेसम्म मुआब्जा नपाएको र काठमाण्डौ उपत्यकाका सडक विस्तारमा ढिलाइ भएको तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसैबिच नेपाली काङ्ग्रेसकी पुष्पा भुसालले प्रधानमन्त्रीको यूरोप भ्रमणका बारेमा सदनलाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराईन् ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले काठमाण्डौ उपत्यकामा खानेपानीको हाहाकार मच्चिएको र गुठी विधेयक गुठियारको भावना विपरीत आएकाले फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए ।


नेकपाका महेश बस्नेतले गुठीसम्बन्धी विधेयक गुठी क्षेत्रका विसङ्गति अन्त्य गर्न आएको हो, यसले गुठीलाई संरक्षण गर्ने बताए ।

सरकारले गुठी विधेयक ल्याएको भन्दै यति बेला यसको विरोध भइरहेको छ । विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्