लोक सेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको मन्त्री पण्डितको दाबी, रद्द गर्नुको औचित्य पुष्टि गर्न राज्य व्यवस्था समितिलाई चुनौती

काठमाण्डौ , जेठ २८ । लोक सेवा आयोगको विज्ञापन रद्द गर्नुको औचित्य पुष्टि गर्न राज्य व्यवस्था समितिलाई मन्त्री संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चुनौती दिएका छन् ।

पण्डितले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी पनि गरेका छन् ।

मन्त्री पण्डितले त्यो विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गरेर देखाउन संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौती पनि दिएका हुन् ।

संवैधानिक, कानुनी र लोक सेवा आयोग ऐन, तथा त्यसको मूल्य र मान्यताको आधारमा खुलाइएको त्यो विज्ञापन खारेज वा रद्द गर्नुपर्ने कुनै कारण नरहेको मन्त्री पण्डितको दाबी छ ।

मंगलबार काठमाण्डौ आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले त्यो विज्ञापनका सम्बन्धमा संवैधानिक प्रश्न उठेमा त्यसको न्याय निरुपण गर्ने काम सर्वोच्च अदालतले गर्ने पनि स्पष्ट पारे ।

मन्त्री पण्डितले सरकारसँग नसोधिकनै निर्देशन दिने निर्णय किन भएको ? भनि समितिसँग प्रश्न पनि गरे । लोक सेवा आयोगका पदाधिकारीले समितिको बैठकमै आएर विज्ञापन खुलाउने निर्णय संवैधानिक र कानुनी व्यवस्था नुसार नै भएको उल्लेख गरेपनि समितिले त्यो कुराको सुनुवाइसमेत नगरेको मन्त्री पण्डितको स्पष्टिकरण छ ।

मन्त्री पण्डितले आफूले समितिको बैठकमा त्यससम्बन्धमा छलफल गर्न जाँदा समितिले यसअघि नै त्यो सम्बन्धमा निर्णय गरिएको भनेपछि आफूले त्यो निर्णय दूर्भाग्यपूर्ण भएको जवाफ दिएको पनि स्मरण गराए ।

मन्त्री पण्डितले प्रदेश लोक सेवा आयोग गठन भई नसकेको बेला स्थानीय तहको मागअनुसार संघीय लोक सेवा आयोगले कर्मचारी छनौटका लागि विज्ञापन खुलाउन सक्ने प्रावधान संविधान र कानुनी नै रहेको पनि पटक–पटक दोर्होयाएका छन् ।

सरकारी तथ्यांक अनुसार सोमबार अपरान्हसम्म त्यो विज्ञापनका लागि ८० हजार १ सय ४१ जनाले फारम भरेका छन ।

यता फारम भरेका हरुले आज आफूहरुले धेरै समयदेखि तयारी गरेको भन्दै विज्ञापनमा हस्तक्षप नगर्न माग गर्दैे काठमाण्डौको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्