यस बर्षको मनसुन एक हप्ता ढिलो गरि सुरु हुने, किसान पानीको पर्खाईमा

काठमाडौं, २७ जेष्ठ । अन्य वर्षजस्तो खडेरी नपरेपनि खास वर्षात यामको यस बर्षको मनसुन एक हप्ता ढिलो गरि सुरु हुने भएको छ । सामान्यतया जुन १० अर्थात् सोमबार आजदेखि मौसम भित्रनुपर्ने भए पनि यसपटकको मनसुन एक हप्ता ढिला गरी भित्रने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यस बर्षको मनसुन अर्को हप्तासम्म नेपाल भित्रने अनुमान छ । मनसुन शुक्रबार भारतको केरला आइपुगेको र अब विस्तारै नेपाल भित्रने जानकारी दिए ।

मनसुन सुरुमा झापा र मोरङ हुँदै मध्यक्षेत्रमा मनसुन सक्रिय हुनेछ । यसबर्ष पूर्वी भेगमा कम र पश्चिममा औषत पानी पर्ने पूर्वानुमान गरिएको छ ।

अहिले धानको बिउ राख्ने बेला हो । कुलो पानी भएका क्षेत्रमा बिउ उम्रिसकेको भएपनि आकाशे पानी पर्खेर बसेका किसानलाई त्यसै अनुसार तयारी गर्न कृषि विज्ञले आग्रह गरेका छन् ।

मनसुनअघि सक्रिय बनेको प्रि(मनसुनले अझै आकाश छाडेको छैन । प्रि(मनसुन र हिउँदे बर्षा भने पश्चिमी वायुको प्रभाव नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ ।

यसैविच सोमबार मध्य, पूर्व र पश्चिमी पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित सामान्य बर्षाको संभावना छ । तर तराई क्षेत्रमा सोमबार दिनभर नै मौरम सफा हुने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा अहिले मौसम सफा भएतापनि बेलुकापख आंशिक बदली हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्