माइतीघर मण्डलामा गुठी विधेयकविरुद्धको प्रदर्शनमा पानीको फोहरा, प्रहरीले गर्योे हस्तक्षेप

काठमाडौं , जेठ २६ । माइतीघर मण्डलामा गुठी विधेयकविरुद्ध पानीको फोहरासहित प्रदर्शन गरिएको छ ।

माइतीघर मण्डलामा गुठी विधेयकविरुद्ध भएको प्रदर्शन गर्नेमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेजी माग गर्दै प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि आइतबार दिउँसो प्रहरीले पानीको फोहोरा हानेर हस्तक्षेप गरेको हो।

गुठी विधेयकका कारण सनातन धर्म र संस्कृतिमाथि आक्रमण भएको भन्दै विभिन्न संघसंस्थाका प्रतिनिधिले मण्डलामा प्रदर्शन गरेका थिए।

सुरुमा मण्डलामै बसेर प्रदर्शन गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधि विस्तारै सडकमै निस्किएका थिए। प्रदर्शनका क्रममा सडकमै सुतेपछि प्रहरीले बल प्रयोग गरेको हो।

पटकपटक सम्झाउँदासमेत सडकमा सुतेका प्रदर्शनकारी नउठेपछि प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।

प्रदर्शनकारीले ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेज गर’, ‘परम्परागत सनातन धार्मिक सांस्कृतिक धरोहर अतिक्रमण गर्ने प्रस्तावित गुठी विधेयक २०७५ अबिलम्ब खारेज गर’लगायत लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए


यता नेवा देय् दवु, नेपाल गुठी संरक्षण पुच, नेपाल भाषा मंका खलले प्रहरी हस्तक्षेपको विरोध गरेका छन् । मंका खलका सचिव नरेशवीर शाक्यले प्रहरी दमनको विरोध गर्दै अब सांस्कृतिक आन्दोलनको विकल्प नरहेको बताए ।

दवुका अध्यक्ष नरेश कुमार ताम्राकारले मौलिक धर्म संस्कृति ध्वस्त गर्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।

सरकारले गुठीको स्वामित्व नै लोप हुने गरी राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उद्देश्यले गुठीसम्बन्धी कानुनमा संशोधन गर्न खोजेको छ ।

सरोकारवाला भने सरकारले विधेयक फिर्ता लिनु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्