झाडापखलाको महामारी, ५० जना भन्दा बढी बिरामी , केहिको अवस्था गम्भीर

काठमाडौं, जेठ २६ । सन्धिुपालचोकमा झाडापखलाको महामारी फैलिदा एकै गाउँका ५० जना भन्दा बढि बिरामी भएका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको हो । झाडापखलाबाट केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बताए ।

विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिए । विरामी हुनेमा विन्जेलको मुलाबारीका भुजेलहरु रहेका छन् ।

शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो । त्यही बिहेको भोज खाएपछि यो महामारी देखा परेको हो ।

विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दूषित पानीका कारण महामारी फैलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताए ।

झाडापखलाका कारण विरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ ।

गम्भीर विरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्