प्रधानमन्त्री ओली आजदेखि युरोप भ्रमणमा, छिमेकीसँगको सम्बन्धमा केन्द्रित हुने

काठमाण्डौ, २५ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली देशका तीन देशको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै छन् ।

छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली देशतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्र सङ्घको स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमण भएकाले यो भ्रमणलाई विशेष महत्वका साथ हेरीएको छ ।

प्रधानमन्त्री ओलीले यही जेठ आजदेखि जेष्ठ २६ देखि ३२ गतेसम्म स्विजरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् । नेपालको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको (२०३ वर्ष) मुलुक बेलायतसँग बेलायती गोर्खा सैनिकसँगको भावनात्मक सम्बन्ध पनि जोडिएको छ । फ्रान्ससँग भने ७० वर्षे द्विपक्षीय सम्बन्ध छ । यी विकसित मुलुकसँग नेपालले राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने देखिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका साथ नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिपछि प्रधानमन्त्रीको यो विदेशयात्रा हुन लागेको छ । यसअघि प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण आपसी सम्बन्ध अझै विकसित गर्न तथा नेपालले हासिल गरेका उपलब्धिमा मित्रराष्ट्रबाट सहयोगका नयाँ क्षेत्र, लगानी तथा व्यापार प्रवर्द्धन गर्नमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउन केन्द्रित हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा जेठ २६ र २७ गते स्विजरल्याण्डको जेनेभामा रहनुहुनेछ । उनले आईएलओको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

शतवार्षिकी सम्मेलनमा सहभागिता तथा संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमण नेपालको परराष्ट्र सम्बन्ध तथा अन्तरराष्ट्रिय मञ्चमा महत्वपूर्ण सहकार्यको अवसर हुने ठानिएको छ । जेनेभा बैठकमा विश्वका ४५ जति देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने जनाइएको छ ।त्यहाँ रहँदा प्रधानमन्त्री ओलीको केही देशका समकक्षीसँग र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेठ २७ देखि २९ गतेसम्म बेलायतको औपचारिक भ्रमण गर्नुहुने प्रधानमन्त्री ओलीले त्यहाँको बसाइका क्रममा जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीको त्यहाँका प्रधानमन्त्री थेरेसा मेसँग जेठ २८ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भ्रमणकै सिलसिलामा नर्वेली प्रधानमन्त्री इर्ना सोल्बेर्गसँग पनि भेटवार्ता गर्ने छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्ने र पेरिसमा उहाँले आफ्ना फ्रान्सेली समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्ने छन् । मन्त्री ज्ञवालीले भ्रमण युरोपेली मुलुकसँगको सम्बन्ध थप सुदृढ बनाउने तथा नेपालले अहिले लिइरहेको बाटोबारे मित्र राष्ट्रलाई अवगत गराउने विदेश भ्रमणको मुख्य उद्देश्य रहको जानकारी दिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले द्विपक्षीय मामिलाका साथै आर्थिक विकास र समृद्धिको बाटामा बेलायतको लगानी भित्र्याउने, द्विपक्षीय व्यापार अभिवृद्धि र प्रविधिका क्षेत्रमा सहयोगका लागि यो भ्रमण उपलब्धिमूलक हुने बताए । उहाँले फ्रान्समा रहँदा नेपालको आर्थिक विकास र व्यावसायिक क्षेत्रमा सहकार्यका लागि संवाद हुने जानकारी दिनुभयो । डा भट्टराईले भन्नुभयो, ’लामो समयदेखि सीमित क्षेत्रमा खुम्चिएको नेपालको परराष्ट्र नीतिलाई अहिलेको राजनीतिक स्थिरता र समृद्धिको लक्ष्यका सन्दर्भमा त्यसभन्दा बाहिर गएर नेपाल राष्ट्र र जनताको हितमा ती सम्बन्धलाई उपयोग गर्ने नीतिअनुसार यो भ्रमण हुन लागेको हो ।’ भ्रमण दलमा झण्डै २२ जना सहभागी हुनेछन् । भ्रमणले वैदेशिक लगानीको वातावरण पनि बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्