प्रधामन्त्री ओलीले गरे प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रारम्भ, भने -सरकारले घर-घरमा गएर रोजगारी दिन्छ, पहिलो चरणमा पाए ७ सय युवाले रोजगारी


कठमाडौं, जेठ २४ । प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका हुन्।

प्रधानमन्त्र्री ओलीले सरकारले घर–घरमा गएर रोजगारी दिने बताएका छन् ।

भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घर-घर पुगेर रोजगारी दिने आश्वासन दिए ।

उनले ४० लाख नेपाली युवालाई आफ्नो नेतृत्वको सरकारले विदेश नपठाएको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको बताए ।

सरकारले भ्रष्टाचार नगरिकन काम गरिरहेको दाबी गर्दै काममा मात्र विश्वास गर्नेउनको भनाइ थियो ।

उनले भक्तपुरका चारवटै नगरपालिकामा शुक्रबार‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रारम्भ गर्दै सरकार विरोधी केही तत्वहरु सक्रिय भएपनि उनीहरु कुनै हालतमा सफल नहुने बताए ।

कार्यक्रमबाट पहिलो चरणमा भक्तपुरका तीनवटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवाहरुले रोजगारी पाएका छन् । करिव १ हजार ५ सय युवाहरुले भने बेरोजारको सूचिमा नाम दर्ता गराएका थिए ।

यस्तै कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए । उनले विस्तारै सबै क्षेत्रमा लागु गरिने पनि बताएका छन् ।

कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्