कैलाली कञ्चनपुर हावाहुरी अपडेटः दुई जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौ, २४ जेठ । कैलाली कञ्चनपुर हावाहुरी अपडेटमा दुई जनाको मृत्यु भएको र ७० जना भन्दा बढि घाइते भएका छन् । कैलालीमा हावाहुरीमा परेर दुई जनाको ज्यान गएको हो ।

बिहीबार बेलुकी हावाहुरी चलेपछि टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै त्यही ठाउँमा हुरीबतासले पर्खाल भत्काउँदा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेका ४७ वर्षका लाहानु दवैराको ज्यान गएको छ । भत्किएको पर्खालले लागेर घाइते भएका दवैराको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । हावाहुरीले बिजुलीको पोल तथा रुख ढलाउँदा केही ठाउँमा यातायात अवरुद्ध भएको छ । कच्ची घरका छाना उडाएका छन् । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरबाट सुरु भएको हावाहुरी शुक्रबार बिहान काठमाण्डौ सहित मध्य क्षेत्रमा आइपुगेको छ । काठमाडौ र आसपासमा शुक्रबार बिहानै हावाहुरी चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्