कैलालीमा ‘म स्वस्थ मेरो नगर स्वस्थ’ अभियान शुरु, धेरैलाई जिम्मेवार बनाउने अपेक्षा

काठमाडौं, जेठ २३ । कैलालीमा ‘म स्वस्थ मेरो नगर स्वस्थ’ अभियान शुरु भएको छ ।
कैलालीको टीकापुर नगरपालिकाले ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु गरेको हो ।

नगरपालिकाले ‘स्थानीय जनताको स्वस्थता, नगर सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ नगर स्वस्थ अभियान शुरु गरेको जनाएको छ ।

अभियान अन्तर्गत नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, शिक्षक, राजनीतिक दलका प्रतिनिधिलाई सामाजिकरुपमा प्रतिबद्ध गराउन थालेको छ ।

नगरपालिकाले सार्वजनिक कार्यक्रममा सामूहिक प्रतिबद्धता गर्न लगाएर सामाजिक सञ्जालमा हाल्न थालेको छ । जसले स्वास्थ्यप्रति सचेत रहन सहयोग गर्छ ।

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । सङ्घ र प्रदेश सरकारले पनि स्वास्थ्यप्रति नागरिकलाई जिम्मेवार बनाउन मेरो वर्ष अभियान शुरु गरेका छन् ।

नगरपालिकाले भने केन्द्र कार्यालय र वडा कार्यालयमा जनप्रतिनिधिका फोटोसहितका प्रतिबद्धता टासेर अभियान थालेको छ । दश बुँदामा रहेको प्रतिबद्धतामा म स्वस्थ र पोषिलो खाना खान्छु, म रक्सी चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु, म नियमित व्यायाम गर्छु, म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु भनी उल्लेख गरिएको छ ।


प्रतिबद्धतामा म टाफिक नियम पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु, म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बालविवाह, छाउपडी प्रथाजस्ता सामाजिक कुरीति र कु संस्कारको अन्त्य गर्दै प्रतिबद्ध रहनेछु, म हिंसा र भेदभाव गर्ने छैन र कसैले हिंसा र भेदभाव गरेको थाहा पाए त्यसको प्रतिकार गर्छु भनी उल्लेख गरिएको छ ।


यी १० बुँदे प्रतिबद्धता कार्यान्वयन गरेमा नगर सुन्दर र नगरवासी स्वस्थ रहन मद्दत पुग्ने नगरप्रमुख तपेन्द्र रावलले बताए । ‘स्वास्थ्य नै धन हो । त्यसैले नगरपालिकाले स्वास्थ्यमा बढी लगानी गरेको छ’, प्रमुख रावलले भने, ‘यो अभियानले धेरैलाई जिम्मेवार बनाउने छ ।’


स्वास्थ्य उपशाखा संयोजक बलबहादुर रावलले यो अभियान अब विद्यालयमा लैजाने बताए । ‘जिम्मेवार व्यक्तिले मदिरा सेवनजस्ता कार्य गर्दा समाज बिग्रिएको छ’, संयोजक रावलले भने, ‘कुलतजस्ता गलत बाटोमा लागेकालाई जिम्मेवार बनाउन र स्वास्थ्यप्रति सचेत गराउन अभियानले सहयोग गर्छ ।’ नेपाली काङ्ग्रेसका नगर सचिव मोतिराम भण्डारीले नगरपालिकाले अभियानसँगै मदिरा नियन्त्रण, दुव्र्यसनी नियन्त्रण जस्ता कार्यमा कडाइ गर्नुपर्ने धारणा राखे ।


यस्तो अभियानले नागरिकलाई जिम्मेवार बनाउने अपेक्षा लिएको छ । टिकापुरमा मात्रै होइन कैलालीका अन्य क्षेत्रमा पनि यो अभियान सुरु गर्नु पर्नेमा त्यहाँका सरोकारवालहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्