गार्मेन्ट टेलरको कामको लागि गएका नेपाली रसियामा अलपत्र
काठमाडौ, २३ जेठ । रसियामा १३ जना नेपाली कामदार अलपत्र परेका छन् । ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका हुन् ।
काठमाडौस्थित बौद्धमा रहेको ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महिना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका छन् ।
अलपत्र पर्नेमा रामेछापका गोविन्द तामाङ , खगेन्द्रबहादुर सुनुवार र कुमार मगर छन् त्यस्तै इलामका प्रेमबहादुर गुरुङ र शेरबहादुर गुरुङ, धनकुटाका बोमदेवान राई, पाँचथरका विनोद गुरुङ, ओखलढुङ्गाका तेजबहादुर राई, नवलपुरका दीपबहादुर आले मगर र सुजन झण्डी मगर, चितवनका अनिल तामाङ, काठमाण्डौका सविन बस्ताकोटी तथा उदयपुरका देवराज विष्ट रहेका छन् ।
दुई चरणमा गरेर रसिया पुगेका ३४ कामदारमध्ये केहीलाई आंशिक मात्रामा काम दिएर न्यून पारिश्रमिक मात्र दिइएको बताइएको छ । ५०० अमेरिकी डलर मासिक पारिश्रमिक दिने भनी सम्झौता गरेर लगिए पनि अहिले विभिन्न बहानामा कम्पनीले आठ हजारमात्र पारिश्रमिक दिएको कामदारले आरोप लगाएका छन् । कामदारले पाउनुपर्ने तलब अर्को महीना दिन्छौँ भन्दै आए पनि अहिलेसम्म पूरा तलब नपाएको उहाँहरुको भनाइ छ ।
रसिया ओर्लनेबित्तिकै कम्पनीको आधिकारिक प्रतिनिधि नआइ उहाँहरुलाई लिन एजेन्टलाई पठाइएको थियो । ‘रसियाको विमानस्थलमा झरेपछि रसियन एजेन्टले हामीलाई सेन्टपिटरवर्ग जाने ‘ट्रेन’मा चढाएर छाड्यो’ अलपत्र परेका कामदार प्रेमबहादुरले भने, ‘त्यसपछि फेरि भारतीय एजेन्ट आएर हामीलाई लग्यो, काम लगाइदिने आश्वासन दिएर उ पनि फरार भयो ।’ कामको आश्वासनमा मेनपावर कम्पनीले पठाएको ४०० अमेरिकी डलर अमृक सिंह भन्ने सो भारतीय एजेन्टलाई दिइएको उनले बताए ।
दुई पक्षबीच भएको सम्झौताअनुसारको काम गर्ने वतावरण निर्माण गरिदिन पटक/पटक म्यानपावर कम्पनीसँग आग्रह गरे पनि बेवास्ता गर्दै आएको उनीहरुको भनाइ थियो । ‘हामीले पटक/पटक मेनपावर सञ्चालकलाई काम दिलाइदिन आग्रह गरेका छौँ, उसले विभिन्न बहानामा टार्दै आएको छ ।’ अलपत्र परेका अर्का कामदार बोम देवान राईले भन्नुभयो, ‘म्यानपावर सञ्चालकले उल्टो हामीलाई धम्क्याउँदै आएको छ ।’
काम नपाएर अलपत्र परेका कामदारलाई पटक÷पटक डेरा सारिएको उहाँको भनाइ थियो । अलपत्र कामदार प्रेमबहादुरले भने , ‘हामी यहाँ आएदेखि नै काम दिनुको सट्टा दुई पटक डेरा सर्यौ ।’ तत्कालका लागि खानाका केही प्रबन्ध गरेको भए पनि केही दिन अघिमात्रै आएको रसियन एजेन्टले मङ्गलबारदेखि खाना खान दिन नसक्ने र खानाको आफै व्यवस्था गर्न भनेको अलपत्र परेका कामदारको भनाइ छ ।
खान, बस्न, यातायात सुविधा, निरन्तर काम, जाँदा, आउँदा हवाई टिकट कम्पनीले व्यहोर्ने दोहोरो सम्झौता गरेर गएका उनीहरुले अहिलेसम्म कुनै पनि सेवा सुविधा प्राप्त गरेका छैनन् । ‘रोजगारदाता कम्पनी र कामदारबीच सेवा सुविधाको सम्बन्धमा दोहोरो सम्झौता भएको छ’, प्रेमबहादुरले भने ‘तर कम्पनीले हामीलाई सम्झौता अनुसारको व्यवहार गरेको छैन ।’
प्रतिक्रिया दिनुहोस्