सरकारलाई चर्को दबाब, लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए देश गम्भीर द्वन्द्वमा फस्ने चेतावनी

काठमाण्डौ , जेठ २२ । लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई यति बेला चर्को दबाब परेको छ ।

सत्तारुढ दलकै सांसदहरुले विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई चर्को दबाब दिइरहेका छन् ।

सत्तारुढ समाजवादी पार्टी, नेपालका नेता एवम् सांसद रामसहायप्रसाद यादवले संघीयता, संविधान र कानुनविपरीत स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए देश गम्भीर द्वन्द्वमा फस्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै उनीहरुले स्थानीय तहको आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा समेत लोक सेवा आयोगले विज्ञापन गरेपछि त्यसको विरोधमा देशभर आन्दोलन सुरु भएको उल्लेख गर्दै त्यसलाई तत्काल नसच्याए देशमा ठूलो द्वन्द्व निम्तिनेतर्फ सरकारलाई सचेत पनि गराए ।

लोक सेवा आयोगले केही दिनअघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुला गरेको थियो । त्यो विज्ञापन संविधान र कानुनविपरीत आएको सांसद यादवको दाबी छ ।

उनले स्थानीय तह आफैले कर्मचारी नियुक्त गर्न पाउने संवैधानिक अधिकार लोक सेवा आयोगले कटौती गर्न नपाउने पनि स्पष्ट पारे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले देशमा थप आर्थिक बोझ हुने गरी लोक सेवा आयोगले कर्मचारीको नियुक्तिका लागि विज्ञापन खुला गरेकोमा आपत्ति जनाए । उनले कर्मचारी कटौती गर्ने र उनीहरुको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराए ।
गरिब नागरिकले तिरेको ट्याक्सबाट कर्मचारी र जनप्रतिनिधिहरुलाई सेवा, सुविधा थप गर्ने काम गर्नु अपराधसरह भएकाले कर्मचारीहरुको सेवा, सुविधा बढाउने काम सरकारले गर्न नहुने सांसद भुसालको भनाइ छ ।


सांसदहरुले कर्मचारीहरुको अभाव भए तत्कालका लागि करारमा राख्ने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यता हिजो मात्रै संयुक्त विद्यार्थी संघर्ष समितिले कर्मचारी भर्नाको लागि लोकसेवा आयोगले निकालेको विज्ञापन सच्याउन माग गर्दै काठमाडौंंको माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् ।

लोक सेवा आयोगले आह्वान गरेको कर्मचारी भर्ना विज्ञापन समानुपातिक नभएको भन्दै विद्यार्थीहरले काठमाडौंंको माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्