प्रतिनिधिसभा बैठकः प्राधिकरणको कामप्रति संका, कुलमानमाथि कडा छानबिनदेखि लोकसेवाको विज्ञापन खारेजीसम्मको माग

काठमाडौं , जेठ २१ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

शुन्य समयमा बोल्दै सत्तारुढ नेकपाका नेता तथा सांसद् महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणको काम–कार्वाहीप्रति संका भएको बताएका छन् ।

केही दिनअघि नेकपाकै अर्का सांसद् अमललाल मोदीले संसदमै बोलेको कुराप्रति सहमति जनाउँदै सांसद बस्नेतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिले छानबिन गर्नुपर्ने जोडदार माग गरेका छन् ।

यस्तै आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले कुलमानमाथि अख्तियारले अनुसन्धान गर्नुपर्ने विषय उठाउँदा मोदीमाथि गाली–गलौज हुनु दुःखद् भएको बताएका छन् ।

विद्युत प्राधिकरणमाथि ९ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको कुरा सांसद् मोदीले उठाएका थिए । त्यस लगत्तैदेखि उनीबिरुद्ध खनिएको जनमतको खण्डन गर्दै बस्नेतले मोदीका पक्षमा मत राखेका हुन् ।

सांसद् बस्नेतले भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको बताउँदै यस्तो सवेदनशील विषय उठाउँदा पनि मोदीमाथि केही सञ्चारमाध्यम र सामाजिक संजालले तल्लो स्तरको गाली र विरोध गर्नु गलत रहेको तर्क गरेका छन् ।

सांसद मिनबहादुर विश्वकर्मा सरकार दिनानुदिन निर्मम, निरंकुश र सर्वसत्तावादी हुँदै गएको आरोप लगाए। लोकसेवा आयोगले हालै सार्वजनिक गरेको विज्ञापनले उक्त कुराको पुष्टि गरेको उनले दाबी गरे।

उनले लोकसेवा आयोगको विज्ञापन खारेज गरि संविधानको धारा ३८, ४० र ४२ को कार्यान्वयन हुने गरि पुन प्रकाशित गर्न माग गरे।

सांसद मिनेन्द्र रिजालले संविधानसभा पदकको डिजाइन र सुशोभनको शैलीले संविधान निर्माणका लागि गरिएको बलिदानीपुर्ण संघर्ष र संविधानको मर्म, भाव र उत्तराधिकारलाई परिलक्षित गर्न नसकेको गुनासो गरे।

सांसद यज्ञ बहादुर बोगटी जेठ १० गते अछामको ढकारी गाउपालिका वडानम्बर ४ बलातामा आगलागीबाट ७ वटा घरपुर्ण रुपमा नष्ट भएको, पशुंपक्षी लगायत नगद जिन्सिको क्षति भएको भन्दै तत्काल पीडीतलाई राहतको व्यवस्था गर्न माग गरे।

सांसद यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बेलायत भ्रमणको क्रममा भुपु गोर्खा सैनिकहरुले वर्षौदेखि उठाउँदै आएको समानताको माग सम्बोधनका लागि ठोस पहल गर्न आग्रह गरे।

सांसद रंगमती शाहीले जेठ ७ गते तिब्बतको पात्लाकोटमा एक जना चिनिया महिलाको मृत्यु भएको र सो को छानविनका लागि हुम्लाका तेज बहादु थडेरालाई ताक्लाकोटको पुरुङ लगिएको तथा त्यसपछि कामदारलाई हुम्लामा लखेट्ने काम गरिएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सांसद राजेन्द्र प्रसाद लिङदेनले विगत तीन दशकदेखि बेलायति भुतपुर्व सैनिकहरु समान कामको समान ज्यालाको माग राखेर आन्दोलनमा रहेको भन्दै प्रधानमन्त्रीको बेलायत भ्रमणको क्रममा सो समस्याको समाधानलाई निष्कर्षमा पुर्याउने विषयमा उचित पहल गर्न माग गरे।

सांसद लक्ष्मण लाल कर्णले विरगञ्जमा उच्च अदालतको भवन निर्माण तत्काल सुरु गर्न सरकारसंग माग गरे। उच्च अदालत भवन निर्माणका लागि सर्वोच्च अदालतले ७ विघाहा जग्गाको माग गरेको फाईल उद्योग मन्त्रालयले थन्काएर राखेको दाबी गरे।

उच्च अदालतको भवन बनाउन सर्वोच्च अदालत तयार भइरहेको अवस्थामा भवन निर्माण सम्बन्धि फाईल मन्त्रालयमा अड्काउने काम भएको भन्दै उनले त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए।


जनपुरको उच्च अदातलको अतिरिक्त बेन्च उच्च अदालत विरगञ्जमा संचालन हुदै आएको छ।

सांसद महेश बस्नेतले मुलुक धर्मनिरपेक्ष राष्ट्र भइसकेकाले आफुमा निहित क्रिश्चियन धर्म विरोधी भूतलाई हटाउन सांसदहरुलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्