अविश्वासको वातावरण हटाउन अध्यक्षद्वय घनिभुत छलफलमा

काठमाडौँ, २० जेष्ठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच घनिभुत रुपमा छलफल भएको छ । अध्यक्ष प्रचण्डले पार्टी एकताको मर्म अनुसार आधा–आधी समय दुबै प्रधानमन्त्री हुने समझदारी भएको कुरा एक टेलिभिजनलाई दिएको अन्तरवार्ताले नेपाली राजनीतिमा तरंग ल्याएपछि यस पटकको दुबै अध्यक्षको भटेलाई ‘वान टु वान’ वार्तालाई विशेष महत्वकासाथ हेरिएको छ । यसै अन्तरंग वार्ताले पार्टीलाई एकढिक्का बनाउला या, विभाजन ? त्यो भने भविष्यले बताउला ।

उक्त अन्तरवार्ताको तरङ्गले नेकपामा नयाँ बहस सुरु भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्ड तीन घण्टा लामो छलफलमा जुटेका थिए । दुई नेताबीच पार्टी एकताका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको हुन सक्ने अनुमान अन्य नेता कार्यकर्ता थियो । किनभने सचिवालयको बैठकको पूर्वसन्ध्या सधैँजसो दुई अध्यक्ष छलफलको लागि बस्ने गरेका थिए ।

तर, आइतबारको भेटवार्ता पार्टी एकीकरणका बाँकी काम टुंगाउने विषयमा छलफल केन्द्रीत भएन । बरु आफ्ना तितामिठा मनका बह पोखेरै अध्यक्षद्वयले तीन घण्टा समय बिताए । त्यसबाहेक पुराना विषयमा एकले अर्कालाई विश्वास दिलाउने कोशिस मात्र भएको स्रोतले बतायो ।

आइतबारको भेटवार्ता सकिएपछि दुवै अध्यक्षले आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्री निकट एक नेताका अनुसार प्रचण्डको अन्तरवार्ताले आफूलाई तनाव भएको भन्दै प्रचण्डलाई ‘तपाईंले गर्न खोजेको के हो ?’ भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रचण्डले ‘यो कुनै नौलो कुरा नभएको र मिडियाले अनावश्यक रुपमा उछालेको’ जवाफ दिएका थिए । ‘यो विषयलाई सिरियस्ली नलिनुहोला,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले बताए ।

ती नेताका अनुसार प्रचण्डले पनि ओलीलाई गणतन्त्र दिवसको दिन एक पटक पनि जनयुद्ध शब्द उच्चारण नगरेकोमा आफूलाई चित्त दुखेको बताएका थिए । प्रचण्डको भनाई उद्धत गर्दै एक नेताले भने, ‘गणतन्त्र दिवसको दिन आफ्नो भाषणमा जनयुद्धको उपलब्धी गणतन्त्र हो भनेर भन्ने शब्द समेत कतै उच्चारण गर्नुभएन । तपाईंलाई अझैपनि जनयुद्ध शब्द उच्चारण गर्न के को आपत्ति ?’

त्यस्तै ओलीले आफू विदेश जाँदामात्रै किन यस्तो हुन्छ भनेर गुनासो पनि प्रचण्डसँग गरेको ति नेताले बताए ।

दुई अध्यक्षबीच आफ्ना बह पोख्नमै समय बितेपछि सोमबार बस्ने भनिएको सचिवालय बैठक छलफल तथा तयार िनपुगेको भन्नै स्थगित गरियो । अर्को बैठक मंगलबारका लागि तय भएको छ । आज भने प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलबीचमा एकीकरणका बाँकी काम टुंगाउनेबारे गृहकार्य भैरहेको छ ।

पार्टी एकता गर्दा गोप्य भनिएपनि यो सहमतिमा नेकपाका धेरै नेता–कार्यकर्ताका लागि ‘ओपन सेक्रेट’ थियो ।
पार्टी एकतापछि संगठनात्मक एकता गर्दा होस् वा सरकारका काम कारवाहीका विषयमा होस्, ओली र प्रचण्डले बेलाबेला एक अर्कामाथि अविश्वास हुने खालको कुरा गरिरहेका छन् । गरेको छ । यसैको शृङ्खलामा पछिल्लो पटक आलोपालो प्रधानमन्त्रीको प्रसङ्ग आएको छ ।

२०७५ जेठ २ गते बालुवाटारमा भएको पाँच बुँदे सहमतिमा तत्कालीन एमालेका तर्फबाट अध्यक्ष ओली र उपमहासचिव विष्णु पौडेल तथा तत्कालीन माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्माले गोप्य भनिएको एउटा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

सहमति पार्टीको वैचारिक–राजनीतिक पक्षबाहेक संगठनात्मक विषय पनि थिए । तर, अहिले नेकपामा तरङ्ग ल्याएको चाँहि सहमतिको चौँथो बुदालाई लिएर हो । चौँथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने भन्ने कुरा उल्लेख छ ।

प्रचण्डले आफ्नो अन्तरवार्तामा अवको १५ महिनापछि प्रधानमन्त्री ओलीले या त प्रधानमन्त्री या त अध्यक्ष पद छाड्नुपर्ने खालको अभिव्यक्ति दिएका थिए । अन्तरवार्तामार्फत नै प्रचण्डले सहमति अनुसार अगाडि बढ्नुको विकल्प छैन भनेर प्रधानमन्त्री ओलीलाई अबको १५ महिनापछि पद छाड्ने मानसिकता बनाउन पनि सन्देश दिएका थिए ।
यसरी दुबै अध्यक्षबीच पैदा भएको अविश्वसको बादल कहाँ गएर फाट्ने हो अहिले अड्कल गर्न कठिन छ ।

प्रतिक्रिया दिनुहोस्