राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा र गुणस्तर खस्किदो : सरकारलाई बुझाईयो ज्ञापनपत्र

काठमाण्डौ , जेठ १९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा र गुणस्तरबारे सरकारलाई ज्ञापनपत्र दिइएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा र गुणस्तर खस्कँदै गएको भन्दै नेपाल स्वास्थ्य स्वयंसेकिा समुह दाङले सरकारको ध्यानाकर्षण गराएको छ ।

समूहकी अध्यक्ष विष्णु भण्डारी र सचिव रेखा रोका क्षेत्रीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लक्षित वर्गले राज्यबाट पाउँदै आएको आधारभूत र निःशुल्क स्वास्थ्य सेवा कटौती गरिएको उल्लेख गरिएको छ ।

गाउँगाउँबाट जाने गर्भवती र कुपोषित बालबालिकाले समेत उपचार नपाएर अन्यत्र जान बाध्य भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

स्वयंसेविका समूहले साविकको राप्ती उपक्षेत्रीय अस्पतालले दिँदै आएको स्वास्थ्य सेवा तत्काल दिन, राज्यले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवा यथाशीघ्र सञ्चालन गराउन र गलत काम गर्ने प्रतिष्ठानका पदाधिकारीको वैकल्पिक व्यवस्था गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्रमा साविकको राप्ती अञ्चलका कुपोषित बालबालिकालाई लक्षित गरेर सञ्चालन गरिएको पोषण पुनस्र्थापना गृह बन्द गरिएको, दाताले निर्माण गरिदिएको क्षयरोग उपचार केन्द्र प्रयोग गर्न नदिएको समेत उल्लेख गरिएको छ ।

त्यस्तै आमा सुरक्षा कार्यक्रम बन्द गरेर प्रसुति सेवालाई सशुल्क बनाइएको, अस्पतालका सरकारी कर्मचारीलाई काम गर्ने वातावरण नभएको, नियम विपरीत ३५ दिने सूचना निकालेर हटाउने प्रयास गरेको ज्ञापनपत्रमा भनिएको छ ।

साथै उनीहरुले यस्तो कामले प्रतिष्ठानको गुणस्तर खस्किएको, अस्पतालको फार्मेसी तहसनहस बनाइएको, डायलाइसिस सेवा विस्तार गर्नुको साटो ठेक्कामा दिइएको लगायत कारणले वर्तमान नेतृत्वबाट प्रतिष्ठानले विकासको गति लिन नसक्ने टिपण्णी गरेका छन् ।

प्रतिष्ठानले विकासको गति लिनुको साटो उल्टै भएको विकास पनि खस्कदै गएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्