‘राजनीतिक अधिकारको आन्दोलन समाप्त भयो , अबको यात्रा समृद्धि र विकासको हो’: प्रधानमन्त्री ओली

काठमाडौं , जेठ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताएका छन् ।

नेपाल स्काउटको शनिबार पोखरामा सुरु भएको स्काउट युवा सम्मेलन (रोभर मुट)को उद्घाटन गर्दै उनले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताए ।

देशको समग्र उन्नयनका लागि संकृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उनले राष्ट्र निर्माणका लागि कर्तव्यनिष्ठ र जिम्मेवार युवाको आवश्यकता रहेको उल्लेख गरे ।

युवाहरूको दक्षता, क्षमता अभिवृद्धिका साथै उनीहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने अभियान नै स्काउट रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो राष्ट्रियमात्र नभइ अन्तर्रा्ष्ट्रियरुपमा चलेको अभियान भएको बताए ।

गौरवशाली पुर्खाको इतिहास र योगदानलाई अघि बढाएर तिनीहरूको संरक्षण गर्दै नयाँ निर्माणमा लाग्नुपर्ने आवश्यकता उनले औंल्याए ।

सभ्यता र संस्कृति जोगाउँदै समृद्धितर्फ देश अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

देशलाई अस्थीर बनाउन एकतालाई भाँड्ने शक्ति सक्रिय रहेको उल्लेख गर्दै उनले जातीय, क्षेत्रीय संकुचनबाट सकारात्मक सोचका साथ माथि उठ्नुपर्नेमा जोड दिए ।

स्काउटले युवामा सकारात्मक सोचका साथै उनीहरूका क्षमता, दक्षता अभिवृद्धि गराउन महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्दै उनले राष्ट्र निर्माणमा अनुशासित र जिम्मेवार युवाको महत्वपूर्ण भूमिका हुने बताए ।

युवा तथा खेलकुदमन्त्री एवं प्रथम स्काउट जगतबहादुर विश्वकर्माले युवालाई सकारात्मकमार्गमा अघि बढाउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

उनले ज्ञान, खेललगायतका अनेक क्षेत्रमा युवालाई सक्रिय गराउँदै स्काउटले उनीहरूलाई अनुशासित, कर्तव्यनिष्ठ बनाउन विशेष योगदान गरेको स्मरण गरे ।

युवा वर्गबाट देशले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले युवामा राष्ट्रिय भावनाको विकास गराउँदै राष्ट्र निर्माण अभियानमा सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।

गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवाहरूको यो सम्मेलनले युवाबीच अनुभव आदान–प्रदानका साथै सिर्जनात्मकताको विकासमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

सम्मेलनमा १६ देखि २५ वर्ष उमेरका युवा स्काउटको सहभागिता छ । नेपालसहित १४ देशका लगभग पाँच हजार स्काउट युवा सहभागी छन् ।

स्काउटका माध्यमबाट विभिन्न जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवायुवती एउटा नारा र उद्देश्यसाथ एकै स्थानमा सहभागी रहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।

सम्मेलनबाट उनीहरूबीच सांस्कृतिक आदान–प्रदान, भ्रातृत्व र भगिनित्व विकासमा योगदान पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्