सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने जनचेतना जगाउनु आवश्यक, जान्छ बर्सेनि नेपालमा २५ हजार ज्यान

काठमाण्डौ , जेठ १७ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थ सेवनका असरबारे जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन् ।

उनले सुर्तीजन्य पदार्थ सेवन गर्न कानूनले निषेध गर्नेभन्दा यसले पार्ने असरका बारेमा जनचेतना जगाएर नियन्त्रण गर्न आवश्यको रहेकामा जोड दिए ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा सकार बनाउन सबै जना स्वस्थ हुनैपर्नै उनले औल्यांए ।

उनले भने , ‘सरकारले बर्से्नि सुर्तीजन्य पदार्थमा करको दायरा वृद्धि गरिरहेको छ । नियन्त्रणका लागि कानून कार्यान्वयन गरिरहेको छ । सेवनकर्ता कम नभएको तथ्याङ्क आएका छन् । जनचेतना नै नियन्त्रणको सबैभन्दा राम्रो माध्यम हो ।’

स्वास्थ्यमन्त्री यादवले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्नेसम्बन्धी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा मन्त्रालयले उच्च प्राथमिकता दिने प्रतिबद्धता पनि जनाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सुर्तीजन्य पदार्थ सेवनका कारण मुटु तथा मिर्गौला क्यान्सर जस्ता नसर्ने रोगको सङ्ख्यामा वृद्धि भइराखेको बताए ।

उनले यसलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने जनचेतना जगाउनु आवश्यक रहेको बताएका छन् ।

सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५ हजारको अकालमा मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्