प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, के–के भयो कुराकानी ?

काठमाडौं, जेठ १७ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी ओली र नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

शुक्रबार अपरान्ह दिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानन्त्रीबीच भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमार बताएका छन् ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा भाग लिन बिहीबार नयाँ दिल्ली गएका थिए ।

प्रधानमन्त्री निवास हैदरावाद हाउसमा भएको आधा घन्टाको भेटमा विकास र समृद्धिमा साथ साथ बढ्नेबारे छलफल भएको छ ।

मोदीले सबको साथ सबको विकासलाई छिमेकसँगको सम्बन्धमा पनि लागू गरिरहेको उल्लेख गर्दै मिलेर विकास र समृद्धिमा अगाडि बढ्नुपर्ने बताएका थिए । मोदीको भनाईबाट उत्साही ओलीले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यसहित आफू अगाडि बढिरहेको अवस्थामा विकास र समृद्धिमा भारतको साथप्रति धन्यवाद व्यक्त गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले दुवै नेताले द्विपक्षीय सम्बन्ध सुमधुर भएकोमा खुशी व्यक्त गरेका थिए । जनस्तर र राजनीतिक स्तरमा समेत सम्बन्ध अझ सुमधुर भएकोमा नेताद्वयले सन्तुष्टि व्यक्त गरेको भट्टराईले जानकारी दिए ।

दुवै नेताबीच सम्बन्ध अझ प्रगाढ बनाउन राजनीतिक र कर्मचारी तहमा भ्रमण र समन्वय बढाउँदै लाने सहमति भएको छ । पछिल्ला दिनमा राजनीतिक र प्रशासनिक तहमा भएको भेटघाटले सम्बन्ध सुमधुर बनाउनेतर्फ प्रगति हासिल भएकोमा दुवै नेताले सन्तुष्टि व्यक्त गरेका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले सानदार जीतसहित पुनः प्रधानमन्त्री बन्न सफल भएकामा मोदीलाई बधाई दिएका थिए । मोदीको आगामी कार्यकालको सफलताको कामना गरेका थिए । सपथग्रहण समारोहमा निम्तोलाई स्वीकारेर भारत भ्रमणमा आएकोमा मोदीले ओलीलाई धन्यवाद व्यक्त गरेका थिए ।

भेटको शुरुमै ओलीले मोदीलाई रुद्राक्ष लगाइदिनुका साथै पशुपतिको चन्दन दिएका थिए । नेपाल भ्रमणका लागि मोदीलाई निम्तो समेत दिएका थिए । जवाफमा मोदीले नेपाललाई देवभूमि भन्दै पुनः आउने वचन दिएका थिए ।

ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्