प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज शिष्टाचार भेटवार्ता

काठमडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता हुँदैछ ।

भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भई शुभकामना दिन बिहिबार नयाँ दिल्ली पुगेका ओली र मोदीबीच आज भेटवार्ता हुन लागेको हो । भारतको प्रधानमन्त्री निवास हैदरावाद हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने स्रतले जनाएको छ । त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिने बताइएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओली हिजो साँझ भारतीय समकक्षी मोदीको सपथग्रहण कार्यक्रममा सहभागी भएका थिए । नयाँ दिल्लीको रायसिनाहिलस्थित राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका थिए ।

सपथग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओली आजै अपराह्न काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्