मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्ली प्रस्थान, दुई देश बिचको सम्बन्ध थप मजबुद हुने अपेक्षा

काठमाडौँ , जेठ १६ । मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली प्रस्थान गरेका छन् ।

हालै भएको लोकसभा चुनावमा विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्री तथा नेकपाका नेताहरु बिदाई गर्न पुगेका थिए ।

प्रधानमन्त्री ओलीले भारतका नवनिर्वा्चित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले भारत रहँदा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ । मोदीको कार्यकालमा दुई देश बिचको सम्बन्ध थप मजबुद हुने अपेक्षा गरिएको नेपाल सरकारले जनाएको छ ।

मोदीले नेपालका प्रधानमन्त्रीसहित छिमेकी देशका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निम्ता दिएका छन् ।

बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट ओली दिल्ली गएका हुन् । उनी शुक्रबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्