जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइने, महिला हिंसा देखिने गरी घट्न नसकेको मन्त्री थापाको जिकिर

काठमाडौं , जेठ १५ । महिला हिंसा देखिने गरी घट्न नसकेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बताउकी छन् । उनले महिला हिंसा न्युनीकरण देखिने गरी प्रगति नभएको स्वीकार समेत गरिन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले संविधानले महिला अधिकार ग्यारेन्टी गरे पनि विभिन्न प्रकारका हिंसाबाट भने मुक्त हुन नसकेको बताएकी हुन् ।

‘बोक्सीको आरोपमा, दाइजो नल्याएको भनेर गरिने हिंसा र विभेदसंगै बलात्कारका घटनाहरु महसुस हुने गरी न्युनीकरण हुन सकिरहेको छैन । यसलाई अन्त्य गर्न तीन वटै सरकार (संघीय, प्रदेश र स्थानीय) को समन्वयमा लैङ्गिक विभेद अन्त्यको अभियानको रुपमा बर्ष २०७६ लाई मनाउने निर्णय गरेका छौं’, उनले पत्रकार सम्मेलनमा भनिन् ।

यसैबिच हरेक बर्ष नेपालले जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरेको छ । यस वर्ष पनि मनाउने भएको हो । यसबर्षको नारा ‘लैङ्गिक विभेदको अन्त्य स् समृद्ध नेपालको गन्तव्य’ तय गरिएको छ ।

दिवसका अवसरमा मन्त्रालयले बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा स्थानीय तहका महिला प्रमुख र उपप्रमुख, महिला अध्यक्ष उपाध्यक्ष, जिल्ला समन्य समितिका महिला प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्